प्रधानमन्त्री फर्के लगत्तै परिवर्तन हुने मन्त्री कि सरकार?

प्रधानमन्त्री फर्के लगत्तै परिवर्तन हुने मन्त्री कि सरकार?

गगन देखेर दया लागेको प्रचण्डको टिप्पणी

काठमाडौं : सरकार परिवर्तनको हल्लाले मन्त्रीहरू तर्सिएका छन्। उनीहरू सरकार परिवर्तन नहुने प्रष्टीकरण दिँदै हिँड्न थालेका छन्। यसअघि गृहमन्त्री रमेश लेखकले सरकारका मन्त्री फेर्ने हल्ला निराधार रहेको बताएका थिए।

शनिवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तनको भ्रममा नपर्न भनेका छन्। काँग्रेस महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अफर आइरहेको बताएपछि सरकारका मन्त्रीहरू प्रष्टीकरण दिन थालेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्के लगत्तै मन्त्रीहरू फेरिने या सरकार परिवर्तन हुने दुईथरी हल्लाले यति बेला बजार पिटेको छ। प्रधानमन्त्री ओलीले मन्त्रालयहरूको चौमासिक समीक्षामा असन्तुष्टि जनाएकाले मन्त्रीहरू फेरिने चर्चा छ।

काँग्रेस महामन्त्री थापाको अभिव्यक्ति पछि सरकार नै परिवर्तनको बहस भएको छ। तर, सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुने हल्लाको पछि नलाग्न र सरकार परिवर्तनको भ्रममा नपर्न आग्रह गरेका छन्।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले यसअघि माओवादी नेतृत्वमा आफ्नै पार्टी सरकारमा रहेका बेला पनि सरकार नढल्ने दाबी गरेका थिए। सरकार परिवर्तनको हल्ला चलिरहेका बेला अहिले पनि अर्थ मन्त्री समेत रहेका पौडेलले भ्रममा नपर्न आग्रह गरे।

सरकार फेर्न नेकपा माओवादी केन्द्रले काँग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभामा काँग्रेस महामन्त्री थापाले हप्ताको दुई/तीन पटक प्रचण्डले काँग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको बताएका थिए।

तर, माओवादी अध्यक्ष प्रचण्डले महामन्त्री थापाको अभिव्यक्ति झुटो भएको दाबी गरे। शनिवार आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सम्भावना बोकेका युवा नेताले झुट बोलेको देख्दा दया लागेको टिप्पणी गरे।

आफू सरकारबाट बाहिर निस्केर जनतामा जाँदा नै आफूलाई सहज महसुस भएकाले ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको प्रचण्डले सुनाए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.