काठमाडौं : स्थानीय तह उपनिर्वाचनको मतदान सुरु भएको छ। बिहान ७ बजे सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान सुरु भएको हो।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरीशङ्कर, रुकुमपूर्वको पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष चयन गर्न मतदान भइरहेको छ।
यसबाहेक विभिन्न स्थानीय तहका ३३ जना वडाध्यक्ष चयनका लागि मतदान भइरहेको छ। यसअघि जिल्ला समन्वय समिति ओखलढुङ्गा र कैलालीका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन आयोगले मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने जनाएको छ। मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.