भुटानले देश निकाला गरेका नागरिकलाई फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको दाबी

भुटानले देश निकाला गरेका नागरिकलाई फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको दाबी

तस्बिर : नेपाल टेलिभिजन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिविरमा बाँकी भुटानी शरणार्थी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गर्न आफूले नै पहल गरेको बताउँदै अहिले पनि शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए। बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानमा पनि आफू सकारात्मक रहेको बताए।

मानवीय हिसाबले कष्टकर जीवन यापन गर्दै आएका भुटानी शरणार्थीलाई आफ्नो समेत पहलमा तेस्रो मुलुक हस्तान्तरण गरेको उनले स्मरण गरे। नेपाली भाषी भएकै कारण देश निकाला गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अहिले तेस्रो देशमा पुनर्स्थापना भएका नेपालीभाषी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको सुनाए।

तर तेस्रो मुलुक पुनर्स्थापना भएका भुटानी योग्य र सक्षम भएको उल्लेख गर्दै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रूपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने दाबी प्रधानमन्त्री ओलीले गर्नु भएको भेटमा सहभागी नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउन्डेसनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुःख समेत व्यक्त गरे। ‘मानवीय दृष्टिले मैले शरणार्थी शिविरमा कष्टकर जीवन यापन गर्दै आएका एक लाख बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न पहल गर्दा ममाथि अकेन प्रकारका छुद्र टिप्पणी भए,’ प्रधानमन्त्री ओलीले भने।

भुटानी राजाको अन्यायपूर्ण योजना, शरणार्थीले गुहारे विश्वसमुदाय

नेपाली मूलका भुटानी-अमेरिकी संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा बाकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरे। शरणार्थी शिविरमा बाँकी रहेका शरणार्थीलाई फाउन्डेसनले शिक्षा तथा खाद्यान्नलगायतमा सहयोग गरिरहेको अधिकारीले उल्लेख गरे।

शिविरमा रहेका बालबालिकालाई शिक्षा तथा बृद्धबृद्धालाई पोषणयुक्त खाद्यान्नमा फाउन्डेसनले सहयोग गरिरहेको उनको भनाइ थियो। भेटमा इन्ट्रा फाउन्डेसनले विश्वभरका नेपालीहरूबीचको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का विषयमा जानकारी गराएको थियो।

भेटमा फाउन्डेसनका अध्यक्ष अधिकारीसँगै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई, सचिव गोपाल धिताल, बोर्ड सदस्य ओम गुरुङलगायत सहभागी थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.