एउटा वडाबाहेक रास्वपाको जमानत जफत, राप्रपाको लज्जास्पद हार

एउटा वडाबाहेक रास्वपाको जमानत जफत, राप्रपाको लज्जास्पद हार

काठमाडौं : ४१ पदका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एउटा वडा अध्यक्षमा चित्त बुझाउनु परेको छ। काठमाडौं महानगरपालिका वडा नं १६ मा मात्र रास्वपाका रोजिना श्रेष्ठ विजयी भइन।

काँग्रेस, एमाले र माओवादीले प्रभावशाली मत ल्याएर विजयी हुँदा निरीह बनेको रास्वपालाई रोजिना श्रेष्ठले २९०२ मत ल्याएर सान्त्वना प्रदान गरिन्। २७ ठाउँमा उम्मेदवारी दिएको रास्वपाले २२ भन्दा बढी ठाउँमा भने जमानत समेत जोगाउन सकेन।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेका बेला २७ ठाउँमा उम्मेदवारी दिएको रास्वपाले एक ठाउँमा बाहेकका अन्य सबै स्थानमा सदर मतको न्यूनतम १० प्रतिशत पनि ल्याउन नसक्दा जमानत गुमाएको हो। एउटा मात्रै वडा जित्दा पनि रास्वपाले यसलाई विजयोत्सवका रूपमा लिएको छ। हारको समीक्षा गर्नुको साटो उपनिर्वाचनमा नयाँ अनुभव लिएको रास्वपाको प्रतिक्रिया छ।

अध्यक्ष राजेन्द्र लिङदेनकै गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लज्जास्पद हार व्यहोरेको छ। उपनिर्वाचन भएका अधिकांश ठाउँमा राप्रपाका उम्मेदवारको पनि जमानत जफत भएको छ।

झापाको कनकाई नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले बाजी मार्दा राप्रपाको लज्जास्पद हार भएको हो। अध्यक्षमा ४९३ मत पाएर स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली निर्वाचित भए। प्रतिस्पर्धी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए। तर, राप्रपाका उम्मेदवार नारायणप्रसाद निरौलाले भने जम्मा २६ मत मात्र पाए।

रौतहटको गढीमाई नगरपालिका वडा नं ८ मा भने नेकपा एमालेलाई नेकपा एकीकृत समाजवादीले पराजित गरेको छ। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले एमालेका जिउती देवी यादवलाई पराजित गरे। त्यहाँ पनि राप्रपाका उम्मेदवार रामवालक शाहको लज्जास्पद हार भएको छ। शाहले जम्मा ४ मत पाए।

मकवानपुरको हेटौँडामा भने राप्रपाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार भन्दा बढी मत पाएको छ। हेटौँडा उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा काँग्रेसका अर्जुन प्रसाद तिवारी २ हजार ६३ मत पाएर निर्वाचित भए।

माओवादीका रवि कुमार प्रधानले १ हजार ५६०, एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत ल्याउँदा राप्रपाका प्रेमबहादुर भोलनले १७८ मत मात्र पाए। रास्वपाका आशा वीर बलले जम्मा ८३ मत मात्र पाए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.