कीर्तिपुरमा काँग्रेस विजयी, तेस्रोलिंगीले पाए सान्त्वना मत

कीर्तिपुरमा काँग्रेस विजयी, तेस्रोलिंगीले पाए सान्त्वना मत

काठमाडौँ : कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ। ०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएको काँग्रेसले उपनिर्वाचनमा पनि जित हासिल गरेको हो।

काँग्रेसका कृष्ण मान डङ्गोल ५ हजार ३३४ मत पाएर निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गरेको छ। यसअघि काँग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएकाले उपनिर्वाचन भएको हो।

वामपन्थीहरूको लालकिल्ला मानिँदै आएको कीर्तिपुरमा काँग्रेस दोस्रो पटक विजयी भएको छ। नगरप्रमुखमा निर्वाचित डङ्गोलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ५५५ मत पाए भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाए। स्वतन्त्र उम्मेदवार राज मान महर्जनले २ हजार ३६, कवि कुमार महर्जनले १ हजार ३१४, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत पाएका निर्वाचन आयोगले जनाएको छ।

कीर्तिपुरको नगरप्रमुखमा राजनीतिक दल र स्वतन्त्र गरी २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। नगरप्रमुखमा पहिलो पटक उम्मेदवारी दिएका तेस्रोलिंगी दीपक महर्जन (हनि)ले सान्त्वना मत पाए। उनी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका थिए।

मतगणनाको अन्तिम परिणाम अनुसार राप्रपाका ध्रुव महर्जनले ९९५, स्वतन्त्र उम्मेदवार नवरथ कुमार बानियाले ४३८, नेमकिपाका श्रीकृष्ण महर्जनले २९६, स्वतन्त्र उम्मेदवार मिम महर्जनले ११८, एकीकृत समाजवादीका भानु रिजालले ५२ मत पाए।

नेपाल समाजवादी पार्टीका दिल कुमार महर्जनले ५१, स्वतन्त्र उम्मेदवार आनन्द महर्जनले ४६, नरेश श्रेष्ठले ४१, जनमत पार्टीका केशव श्रेष्ठले २९ र जसपा नेपालका दीपक महर्जनले २७ मत पाए। स्वतन्त्र उम्मेदवार प्रेम बहादुर महर्जनले २०, धर्म रत्न मानन्धरले १३, राम कृष्ण महर्जनले १२ र नरेश राज पाण्डेले ५ मत पाए।

कीर्तिपुरको वडा नं १ र ४ मा पनि काँग्रेस उम्मेदवार निर्वाचित भएका छन्। वडा नं १ मा काँग्रेसका इच्छा कुमार महर्जन ५६२ मत पाएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत पाए भने नेकपा माओवादी केन्द्रका सरल गोपाल महर्जनले १७३ मत ल्याए।

कीर्तिपुरको वडा नं.४ मा नेपाली काँग्रेसका राजेन्द्र बानियाँ १ हजार १५५ मत पाएर विजयी भए। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ८०६ मत पाइन भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए।

वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पहिलो पटक उम्मेदवार बनेका तेस्रोलिंगी राजीव महर्जन (मौनी)ले ७ मत पाए। कीर्तिपुरको नगर प्रमुख र वडा नं. ४ को वडा अध्यक्ष पदमा तेस्रोलिंगीले पहिलो पटक उम्मेदवारी दिएका थिए।

दुवै उम्मेदवारको जमानत भने जोगिन सकेन। उनीहरू उम्मेदवार बन्नु नै जित भएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले बताउँदै आएका थिए। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले चुनावी प्रतिस्पर्धामा सहभागी हुनु नै ठुलो कुरा भएको प्रतिक्रिया दिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.