गल्ती स्विकार्न रविको बहानाबाजी, अब बयान चितवनमा

गल्ती स्विकार्न रविको बहानाबाजी, अब बयान चितवनमा

काठमाडौँ : सहकारीको बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने बयान दिइरहेका छन्। पोखरा, बुटवल र काठमाडौँमा बयान दिएका लामिछानेलाई चितवन लगिएको छ। लामिछानेले अब चितवनमा बयान दिनेछन्।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार रविको बयान सकेको थियो। रविलाई चितवन लैजाँदै गर्दा समर्थकहरूले भने नाराबाजी गरेका छन्।

कार्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयबाट पक्राउ परेका लामिछानेले आफू निर्दोष रहेको दाबी गर्न छोडेका छैनन्। न्यायाधीश समक्ष उनले टेलिभिजन प्रस्तोतादेखि गृहमन्त्री बन्दासम्मको अनुभव सेयर गर्न छुटाएका छैनन्।

दुईदुई पटक गृहमन्त्री बन्दा आफ्ना बिजनेस पार्टनर जीवी राईलाई कठघरामा उभ्याउन असफल मात्र भएनन्, सहकारीमा बचत गरेको रकम फिर्ता लिन प्रदर्शन भइरहे। उनले प्रयास गरेको मात्र जवाफ दिएर टारिरहे। सरकारमा हुँदा राज्य संयन्त्रको दुरुपयोग गरेर आफू निर्दोष भएको प्रमाणित गराउन केन्द्रित भए।

सरकार नै ढाल्ने सम्मका चेतावनीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी जोगाउन महान्यायाधिवक्ता कार्यालयसम्म प्रयोग भयो। संसदीय समितिमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लामिछानेविरुद्ध प्रमाण नभेटिएको जवाफ दिन उपस्थित भए।

लामिछाने महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रमुखबाट आफू निर्दोष भएको सार्वजनिक रूपमा बताउँथे। जुन कुरा उनले अहिले हरेक बयानमा पनि छुटाएका छैनन्। गृहमन्त्री बन्दा पहल गरेको भनेर झारा टारिरहेका छन्।

उनी गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा गएको, त्यो पैसा आफूले खर्च गरेको, तर ल्याउने भूमिकामा आफू नरहेको बयान दिइरहेका छन्। ‘जीवी राईलाई पक्राउ गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदा जमिनमुनि भए पनि आकाशमा भए पनि पक्रन्छु भनेर अभिव्यक्ति दिने मानिस पनि मै हुँ, बचतकर्ताको रकम फिर्ता गराउनको लागि सबैभन्दा बढी प्रतिवेदन दिनेमा म आफैँ संलग्न भएको हो,’लामिछानेले बयानमा भने,’सार्वजनिक रूपमा,अहिले त यो यो विषय आउँछ भन्ने मलाई थाहा थिएन नि।’

लामिछाने यतिबेला कानुनी कठघरामा छन्। उनले बोलेर मात्रै हुँदैन, प्रमाणित हुनु पर्ने विषय एकपछि अर्को बाहिरिएका छन्। आफ्नो हस्ताक्षरमा सहकारीको किस्ता तिर्न काटिएका चेकका फोटोकपीहरू सार्वजनिक भएका छन्। तर, लामिछाने गल्ती स्विकार्न बहानाबाजी गरिरहेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.