चुनावी समीक्षा : ‘एक्लै लडेर प्राप्त स्थान’ सन्तोषजनक

चुनावी समीक्षा : ‘एक्लै लडेर प्राप्त स्थान’ सन्तोषजनक

काठमाडौँ : नेपाली काँग्रेसले उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता बलियो रूपमा प्रदर्शित भएको ठहर गरेको छ।

मुख्य दलहरूप्रति मतदाताले समर्थन प्रकट गरेको काँग्रेसले उल्लेख गरेको छ। गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको दाबी पनि काँग्रेसले गरेको छ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको उल्लेख गरेका छन्। ‘गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ। निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ,’महामन्त्री शर्माले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सक्रिय भूमिका निभाउने युवा पङ्क्तिलाई पार्टी सम्मान गर्दछ।’

उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्ने उनले उल्लेख गरेका छन्। ‘प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई, हामीले सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएका छौँ,’विज्ञप्तिमा लेखिएको छ।

स्थानीय तहमा रिक्त ४४ मध्ये १९ स्थानमा काँग्रेसका उम्मेदवार विजयी भए। ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम तर राजनैतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण रहेको विज्ञप्तिमा लेखिएको छ। ‘०७९ मा विजय पाएको केही स्थान गुमाएका छौँ भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौँ,’विज्ञप्तिमा लेखिएको छ,‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ। हामी यो गर्नेछौँ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.