काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्याइएको छ। उनलाई प्रहरीको गाडीमा पोखरा पुर्याइएको प्रहरीले जनाएको छ। सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न थप गरिएको म्याद सकिन लागेकाले राति नै पोखरा पुर्याएको हो।
लामिछानेमाथि अनुसन्धान गर्न यसअघि पाँचौँ पटक थप गरिएको म्याद सकिन लागेका राति नै पोखरा लगिएको हो।
लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त शर्माले जानकारी दिए। लामिछानेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ।
म्याद थप गरेर उनलाई पर्सा लैजाने तयारी प्रहरीले गरेको छ। पर्सामा पनि रवि र छविलाल जोशी सहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।
लामिछानेले यसअघि रुपन्देही, काठमाडौँमा बयान दिएका छन्। उनले चितवन जिल्ला सरकारी वकिल कार्यालयले मङ्गलवार र बुधवार दुई दिन बयान दिए। पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो। दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरिएको छ।
लामिछानेको बयान चलिरहँदा रास्वपा कार्यकर्ताले उग्र प्रदर्शन गरेका थिए। दिउँसो केहीबेर जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका गरी दुई दर्जन घाइते भएका थिए भने रास्वपा कार्यकर्ताले आन्दोलनसँग सरोकार नभएका व्यक्तिहरूमाथि समेत कुटपिट गरेका थिए।
लामिछानेविरुद्ध चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मङ्सिर ५ गते उनीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सहकारी ठगी आरोपमा लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ। लामिछाने प्रबन्ध निर्देशक रहेका वेला सानो पाइला सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.