निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रास्वपाको आरोप : हिरासतमा रविलाई यातना, निजी डायरी गायब

रास्वपाको आरोप : हिरासतमा रविलाई यातना, निजी डायरी गायब

164
SHARES

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको आरोप लगाएको छ। चितवनबाट रातारात पोखरा पुर्‍याएर सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप रास्वपाले लगाएको हो।

सचिवालय बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको भन्दै आपत्ति समेत जनाएको छ।

सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको वेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको रास्वपाले विज्ञप्तिमा लेखेको छ। रास्वपाले यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरू प्रहरी सूत्रबाट प्राप्त भएको उल्लेख गरेको छ।

रास्वपाले सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको बताएको छ। रास्वपाले सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि दाबी गरेको छ।

प्रहरी हिरासतमा रहेका लामिछानेको मानव अधिकार हनन भएको भन्दै लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन्। उनले आयोगमा गएर लामिछानेलाई हिरासतमा यातना दिएको, अमानवीय व्यवहार गरेको भन्दै छानबिनका गर्न निवेदन दिएकी हुन्।

रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। यस क्रममा उनलाई कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा बयान लिइएको छ। हाल उनी कास्की प्रहरीको हिरासतमा छन्।

शुक्रवार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेटेका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्। उनले आफूहरूले नयाँ शक्तिको अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा रविलाई चिनेको बताए।

उनले सभापति लामिछानेलाई अस्वाभाविक रूपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए। सहकारीसम्बन्धी समस्या सरकारमा रहने तीन ठुला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप भट्टराईले लगाए।

उनले सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए। भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए। पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए।

समाचार शेयर गर्नुहोस्
164
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.