काठमाडौँ : नेपाल सरकारले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको अनौपचारिक भनिएको भ्रमणलाई औपचारिक जस्तै स्वागत गरेको छ। राजा जिग्मेको स्वागतमा र बिदाइमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगिन।
भारतको औपचारिक भ्रमण सकेर फर्किने क्रममा काठमाडौँ विमानस्थलमा ओर्लिएका भुटानका राजालाई परराष्ट्र मन्त्री देउवाले स्वागत गरेकी हुन्। फर्किदा पनि परराष्ट्र मन्त्री राणा विमानस्थलमै पुगेर बिदाइ गरिन्।
स्वयम्भू र बौद्धनाथ पुगेर दर्शन गरे। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग औपचारिक भेटवार्ता गरेर शुक्रवार बिहान काठमाडौँ विमानस्थल ओर्लिएका राजा कुनै राजनीतिक भेटघाट नगरी फर्किए।
औपचारिक भन्दा भुटानी शरणार्थी समस्याबारे कुरा उठ्ने डरका कारण राजा जिग्मेको अनौपचारिक भ्रमण भनिएको टिप्पणी भएको छ। आफ्ना नागरिकलाई लखेटेर खाली गराएको गेलेफु जमिनमा मेगासिटी बनाउने परियोजनाका लागि भारतसँग सहयोग मागेका भुटानका राजाले नेपाली नेताहरूसँग भेट नगर्न अनौपचारिक भ्रमण भनिएको हुन सक्ने टिप्पणी भएको हो।
नेपालमा तीन दशकदेखि शिविरमा बसेका आफ्ना नागरिकको बारेमा कुनै सोधखोज गरेनन् भुटानी राजाले। सक्कली भुटानी शरणार्थी समस्या दीर्घकालीन समाधान गर्न भन्दै नक्कली शरणार्थी काण्ड मच्चाएका नेपालका राजनीतिज्ञलाई पनि भुटानी राजाले भेटेर कुरा गर्ने इच्छा देखाएनन्।
भारतको आडभरोसा पाएका भुटानी राजाले भुटानी शरणार्थीको मागलाई बेवास्ता गर्दै आएका छन्। सन् १९७१ मा भारतको समर्थनमा देशको जनसङ्ख्या १५ लाख छन् भन्ने झुट बोलेर संयुक्त राष्ट्रसङ्घको सदस्यता लिएको भुटानले आफ्ना नागरिकलाई भने देश निकाला गर्ने क्रम अहिले पनि जारी राखेको छ।
भुटानी शाही शासनको सजाय भोगेर जेलबाट रिहा भएका भुटानी नागरिक शरणार्थी शिविरमा शरण लिएर बसेका छन्। रामबहादुर गुरुङ, मधुकर मगर अहिले पनि परिचयपत्र विहीन भएर शिविरमा बसेका छन्।
भुटानी शाही शासनको अत्याचारमा परेकाहरू विश्व समुदायसँग न्याय मागिरहेका छन्। तर, भुटानी राजा देश निकालिएका आफ्ना नागरिकको स्वदेश फिर्तीको मागलाई नजरअन्दाज गदै आएका छन्। शुक्रवार काठमाडौँ आएर फर्किएका भुटानी राजाले त्यसलाई पुष्टि समेत गरे।
भुटानी राजा चुइँक्क नबोल्दा शरणार्थीहरूले भारतको सर्वोच्च अदालतसँग न्याय माग्नु पर्ने बताएका छन्। भुटानको संसद्मा भारतीय दूत बस्ने गरेका छन्। असल इतिहास भारतसँग रहेको उनीहरू बताउँछन्। भारतीय प्रधानमन्त्री मोदी, विदेश मन्त्री जयशंकरसँगको भेटमा पनि शरणार्थी समस्याबारे कुनै कुरा भएन।
भुटानी राजाले भारतसँग मागे जातीय सफाया गरेको गेलेफुमा सहयोग, मोदीले दिए आश्वासन
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.