निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अजिमा र ६ लैङ्गिक पहिचान : ब्रसेल्सदेखि मानवअधिकार फिल्म फेस्टिवलसम्म

अजिमा र ६ लैङ्गिक पहिचान : ब्रसेल्सदेखि मानवअधिकार फिल्म फेस्टिवलसम्म

116
SHARES

काठमाडौँ : समान अधिकारका लागि सङ्घर्ष चलिरहेको छ। यो सङ्घर्ष मानव सभ्यताको उदय भएदेखि नै जारी रहेको पाइन्छ। इतिहासका अध्येताहरूको खोज, अनुसन्धानले पनि त्यही देखाएको छ।

लिङ्गका आधारमा पुरुष, महिला र अन्य (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक)बीच समानता छैन। संविधान, कानुन, ऐन नियम फेर्ने नाममा वर्षौँ बितिसकेको छ। तर, शोषित, पीडित समुदायलाई समान अधिकार उपभोग गर्नबाट वञ्चित गराइएको छ।

नेतृत्वमा पुग्न कुनै न कुनै वादको पछि लाग्नु पर्ने अवस्था छ। स्वतन्त्रता हरण गरिएको छ। निष्पक्षता हराएको छ। विश्वास दिलाउनेहरू नै धोकेबाज बन्दा समान अधिकार स्थापित हुन सकेको छैन। बन्दै गएका संरचना ध्वस्त पार्ने रस्साकस्सी चलिरहेको छ।

बुझेर पनि बुझ पचाउनेहरूका कारण जताततै भद्रगोलको अवस्था देखिन्छ। छेपारोले जस्तै रङ्ग फेर्ने केही तत्त्वका कारण व्यक्तिको पहिचानमाथि हमला भइरहेको छ। अर्कालाई चोट लाग्दा खुच्चिङ भन्नेहरूकै बोलवाला चलिरहेको छ। यसले विगतदेखिकै सङ्घर्ष अन्त्य नभएको देखाउँछ।

यस्तै मध्येको एक हो,पहिचानको सङ्घर्ष। लघु कथानक वृत्तचित्र नीलो फूलले यही सङ्घर्षलाई उजागर गरेको छ। चेतनाको कमीका कारण जबरजस्ती विवाह गराइदिने परिवार रहेको देखाउँछ नीलो फूलले। लिङ्ग पहिचान गरेर व्यक्तिको इच्छा विपरीत विवाह नगराउने परिवारलाई सन्देश दिएको छ,यसले। जुन युट्युबमा हेर्न सकिन्छ।

पहिचानकै सङ्घर्षमा आधारित रहेर अर्को वृत्त चित्र निर्माण भएको छ, अजिमा र ६ लैङ्गिक पहिचान। अजिमा अर्थात् मातृसत्तामा जस्तो हाल कायम पितृसत्ताले समानता कायम गर्न नसकेको देखाइएको छ। पुरुष, महिला, समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी सहित ६ लैङ्गिक पहिचान मातृसत्तादेखि नै स्थापित रहेको देखाएको छ,वृत्तचित्रले।

नेपालको मौलिक पहिचानलाई विश्वका अरू देशहरूले उदाहरणका रूपमा लिन थाले पनि देशभित्रै भने सङ्घर्ष जारी छ। यसैको आवाज बोल्ने वृत्तचित्र अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र नेपाल र युरोपियन युनियनको ५० वर्षको मित्रताका अवसरमा भएको फिल्म फेस्टिवलमा प्रदर्शन भएको छ।

संविधान सभाका सदस्य, इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले निर्माण गरेको वृत्तचित्र इयुले ब्रसेल्समा आयोजना गरेको फिल्म फेस्टिवलमा प्रदर्शन भएको हो।

यो वृत्तचित्र १२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म फेस्टिवलमा पनि प्रदर्शन हुन लागेको छ। ११ डिसेम्बरमा नेपाल पर्यटन बोर्डमा दिउँसो २ बजे अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन हुने निर्माता पन्तले जानकारी दिएका छन्।

समाचार शेयर गर्नुहोस्
116
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.