काठमाडौं : नेपाल पत्रकार महासङ्घको नयाँ कार्य समिति चयनका लागि मङ्सिर २८ गते मतदान हुँदैछ। शुक्रवार उम्मेदवारी दर्ता गरेकाहरूको शनिवार अन्तिम नामावली प्रकाशन भएको छ। चुनावमा सत्ता, विपक्षी र स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन्।
सत्तारुढ काँग्रेस एमालेको संयुक्त प्यानल बनेको छ भने माओवादी सहितका विपक्षी गठबन्धनले अध्यक्षमा काँग्रेसबाट विद्रोह गरेका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन्। अध्यक्षदेखि सदस्यसम्म नै दल बिनाका स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन्।
महासङ्घको निर्वाचन समितिले शनिवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। नयाँ कार्यसमितिका लागि तीन सदस्य निर्विरोध निर्वाचित भएका छन्। आदिवासी जनजाति सदस्य महिलामा देवीका घर्ती मगर, दलित महिला सदस्यमा रिता बुढाथोकी र दलित सदस्य महिलामा सावित्री रसाइली निर्विरोध निर्वाचित भएका हुन्।
महासङ्घको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी कायम भएको छ। देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवार कायम रहेको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद चौलागाई, दीपक आचार्य र रोशन पुरी उम्मेदवार छन्।
महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल) र नितु पण्डितको उम्मेदवारी कायम भएको छ। समावेशी उपाध्यक्षमा उमिद प्रसाद बागचन्द, मोहन कुमार सिंह र सुभाष प्रसाद साह उम्मेदवार छन् भने महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, राम प्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ। खुल्ला सचिवमा माधव दुलाल, उत्तर सिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी र रमेश खतिवडाको उम्मेदवारी परेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.