गफैगफमा बित्यो सरकारको पाँच महिना

गफैगफमा बित्यो सरकारको पाँच महिना

काठमाडौं : काँग्रेस एमाले गठबन्धन सरकारले पाँच महिना बिताएको छ। यो पाँच महिना प्रधानमन्त्री र मन्त्रीहरूले गफैगफ दिएर बिताए। आवश्यक कानुन बनाउन वर्षौँ लगाउने राजनीतिक दलहरूले देश विकासको नारा घन्काउन भने छोडेका छैनन्।

दलहरू आफ्नो अकर्मण्य ढाकछोप गर्न संविधानमाथि दोष थोपर्दै आएका छन्। देशले नयाँ संविधान पाएको एक दशक पुग्न लाग्दा पनि दलहरू संशोधनको रटान लगाइरहेका छन्। वर्तमान सरकार नै संविधान संशोधनका लागि गठन भएको दाबी ठुला दल काँग्रेस र एमालेले गरे पनि संशोधनको प्रस्ताव ल्याउन सकेका छैनन्।

संविधान संशोधनको नाममा काँग्रेस एमाले साना दल सिद्ध्याउन उद्धत रहेको आरोप लागिरहेको छ। सैद्धान्तिक कुरा मात्रै गर्ने तर, व्यवहारिक बन्न नसकेका दलका नेताहरूलाई संविधान दोषी भन्ने हावा कुरा नगर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सुझाव दिएकी छन्।

शनिवार काठमाडौँमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी? विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई पश्चगमनतर्फ फर्काउने उद्देश्यले होइन उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताए।

काँग्रेस सांसद एनपी साउदले बहुदलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको सुनाए।

तीन-तीन पटक देशको प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिकी भने काँग्रेस एमालेलाई गाली गरेरै बितिरहेको छ। नेपाली जनतालाई भ्रष्टाचारको जाँतोमा पिस्ने काम वर्तमान सरकारले गरिरहेको आरोप प्रचण्डले लगाए।

आफूले भ्रष्टाचारका फाइल खोले पछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएका प्रचण्डले रुपन्देहीको तिलोत्तमामा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रतिक्रियावादी जालिझेलिले राष्ट्रलाई बन्धक बनाएको टिप्पणी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अहिले जताततै नारा लागिरहेकोतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले माओवादी समाजवादी नयाँ आन्दोलनमार्फत रूपान्तरित भएर शक्तिशाली बन्न लागेको सुनाए। प्रचण्डले पछिल्लो समय आफू जहाँ गए पनि जिन्दावादको नारा लागेको सुनाउँदै नेपाली जनताले भरोसा गर्न थालेको बताए।

प्रधानमन्त्री ओलीले अहिले आफू विरुद्ध प्रचण्डको नेतृत्वमा मुद्दा मामिलादेखि विरोध प्रदर्शनहरू भइरहेको आरोप लगाएका थिए।

सत्तारुढ नेकपा एमाले कमजोर भएको स्वयं नेताहरूले बताएका छन्। एमाले नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले एमाले यति बेला मणि हराएको सर्प जस्तो भएको टिप्पणी गरे। एमालेको सङ्गठन देखेर अस्तिसम्म र्‍याल काढ्नेहरू अहिले पार्टी सङ्गठन कमजोर बनेको देखेर हौसिएको बताए।

उनले पार्टीभित्र गुटबन्दी मौलाएको बताए। गुटबन्दीले पार्टीलाई खान सक्ने उनको भनाई छ। गुरुङ्गले नेकपा माओवादी केन्द्रलाई विचार विहीन पार्टीको संज्ञा पनि दिए। विचार नै नभएको माओवादी स्थानीय तह उपनिर्वाचनमा दोस्रो दल बनेको भन्दै उनले एमालेभित्रको असन्तुष्टि पोखे।

पार्टी र नेताहरूप्रति असन्तुष्टि जनाएका मन्त्री गुरुङ्गले अब भाषण गरेर मात्रै पार्टी नचल्ने बताए।

२०७२ सालमा संविधान जारी भए लगत्तै आउनुपर्ने सङ्घीय निजामती सेवा ऐन हालसम्म आउन सकेको छैन। निजामती प्रशासन यथास्थितिमा चल्दै आएको छ। प्रशासनिक सङ्घीयताले पूर्णता पाउन सकेको छैन। यस अवधिमा मुलुकले धेरै वटा सरकार पाइसकेको छ। ती सरकारले सङ्घीय निजामती सेवा ऐन ल्याउन नाम मात्रैको पहल गरेको देखिएको छ।

सङ्घीय निजामती सेवा विधेयक २०८० साल फागुनमै प्रतिनिधिसभामा दर्ता भएको थियो। विधेयक संसद्मा दर्ता भएको लामो समयपछि मात्रै समितिमा सैद्धान्तिक छलफल सुरु भएको थियो।

निजामती सेवा ऐनलाई कार्यान्वयनमा ल्याउन धेरै पटक प्रयास भए पनि विवाद कायमै छ। सांसदहरूले संशोधन हाल्ने तर समितिको छलफलमै नआइदिने प्रवृत्तिका कारण ढिलो भइरहेको एमाले सांसद रघुजी पन्त बताउँछन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग गत आइतबारदेखि छलफल सुरु गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.