काठमाडौं : प्रमुख दलहरू पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउन सक्रिय देखिएका छन्। सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले मात्र होइन प्रतिपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी अहिले पार्टी बैठक, भेला र अभियानमा केन्द्रित भएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आइतबार ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला ६ बुँदे घोषणा गर्दै सम्पन्न गरेको छ। केन्द्रीय सङ्गठन विभागले प्रेस वक्तव्य जारी गरेर पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने सङ्कल्प गरेको छ।
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि आगामी माघदेखि चैत्रसम्म ‘वडा केन्द्रित ३ महिने अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। एमालेले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता नवीकरण आगामी चैत्रभित्रै सम्पन्न गरी सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसङ्गठन अभियान’ सञ्चालन गर्ने भनेको छ।
यस वर्षभित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने र चैत्रसम्ममा राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्ने घोषणा एमालेले गरेको छ।
सत्तारुढ नेपाली काँग्रेस पनि अहिले सय दिने विशेष अभियानमा रहेको छ। असोज ७ गते सुरु भएको अभियान पुस १६ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ। हिमाली जिल्लामा दसैँअघि अभियान सकेर बाँकी जिल्लामा प्रतिनिधि खटाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। अर्घाखाँचीमा खटिएका केन्द्रीय सदस्य सञ्जय गौतमले अभियानका क्रममा पार्टी पङ्क्तिमा उत्साह नदेखिएको प्रतिक्रिया दिए।
केन्द्रीय प्रतिनिधिहरूले सङ्गठन प्रभावकारी हुन नसकेको, सदस्यता वितरण विधान अनुसार नभएको, गुटगत समस्या वडा तहसम्म रहेको, भातृ संस्थाहरूमा विवाद समाधान नभएको गुनासो सुनाएका छन्।
सत्तारुढ दुई ठुला दल मात्र होइन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि पार्टीलाई २०६४ सालको चुनावी परिणामतर्फ फर्काउने अभियानमा जुटेको छ। उपनिर्वाचनबाट हौसिएको माओवादीले पुस २१ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।
अहिले पालिका अधिवेशन पनि चलिरहेका कारण पुस २ गते बस्ने भनिएको बैठक झन्डै तीन साता पछि धकेलिएको छ। केन्द्रीय समितिको बैठकका विषयमा निर्णय र एजेन्डा तय गर्न पुस १७ देखि २० सम्म स्थायी समितिको बैठक बस्ने र भोलिपल्टदेखि नै केन्द्रीय समिति बैठक बस्ने माओवादी नेताहरूले बताए।
संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने यतिबेला धमाधम जिल्ला भेलाहरू गरिरहेको छ। हालसम्म ३९ जिल्लाको जिल्ला भेला सकेको रास्वपाले जनाएको छ। २० जिल्लामा यही पुस १५ गतेभित्र भेला सक्ने तयारीमा लागेको रास्वपाले जनाएको छ।
रास्वपाले सोमबार कोशी प्रदेशको पाँचथर र सुदूरपश्चिम प्रदेशको दार्चुला र बाजुरामा गरी एकसाथ तीन जिल्लामा भेलाको आयोजना गरेको छ। मङ्गलवार पुस २ गते कोशी प्रदेशको इलाम र सुदूरपश्चिमको अछाममा गरी दुई जिल्लामा भेला आयोजना गरिएको रास्वपाले जनाएको छ।
पुस ३ गते भने डोटी र बझाङ, ४ गते डडेलधुरा र ५ गते बैतडीमा जिल्ला भेला गर्ने तालिका रहेको छ। त्यस्तै कर्णाली प्रदेशको १० जिल्लामध्ये बाँकी दुई जिल्ला र मधेस प्रदेश अन्तर्गतको बाँकी ७ जिल्लामा पुस १२ गतेभित्र जिल्ला भेला आयोजना गरिसक्ने रास्वपाले जनाएको छ।
भेलाले जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लाहरूमा रिक्त पदहरूको पदपूर्ति र जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्य योजनाबारे निर्णय लिने नेताहरूले बताएका छन्। प्रवक्ता मनिस झाले पछिल्ला केही महिना यता राजनीति र संसदीय गतिविधि अड्किएपछि आफूहरू पार्टी निर्माणमा जुटेको बताए।
नयाँ सरकार बनेको पाँच महिनामा जनतामा निराशा र विदेश गएकाहरूबाट रेमिटेन्स मात्र बढेको उनको दाबी छ। देशको आर्थिक अवस्था झन् जर्जर बनेको तथ्याङ्कहरूले देखाइरहेको भन्दै उनले जुन एजेन्डाका साथ नयाँ सत्ता गठबन्धन बनेको थियो त्यसरी काम हुन नसकेको सुनाए।
उनले सभापति रवि लामिछानेको समर्थनमा सडक चर्काउने पक्षमा आफूहरू नरहेको तर राजनीतिक प्रतिशोधपूर्ण व्यवहारको भने प्रतिकार गरिरहने बताए।
नेकपा एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठक भने केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्ग्याउन नसक्दा लम्बिएको छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनमा नेताहरूको मत बाझिए पछि सोमबारसम्म लम्बिएको हो।
तर प्रवक्ता जगन्नाथ खतिवडा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले बोलेपछि कार्य विभाजनको विषयले बल्ल प्रवेश पाउने बताउँछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.