रविसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो दाबी

रविसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो दाबी

काठमाडौं : प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन मुद्दा दर्ता गर्ने सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने संलग्न भनिएको सूर्यदर्शन सहकारीको अनियमिततासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो। रवि गत कार्तिक २ गते पक्राउ परेका थिए।

कास्की प्रहरीले करिब २ महिना लगाएर तयार पारेको करिब ६०० पेज लामो अनुसन्धान प्रतिवेदनमा रविसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए।

यो मुद्दामा प्रहरीसँग ९० दिनसम्म अनुसन्धान गर्ने हदम्याद भएकाले चार दिन अघि नै प्रतिवेदन बुझाइएको उनले बताए। सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले प्रहरीले मङ्गलवार थप ४ दिन म्याद थपका लागि रविलाई अदालतमा पेस गर्ने तयारी गरेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले तयार पारेको हो। जसमा ३७ जना फरार छन् भने १४ जना मात्रै पक्राउ परेका छन्। बाँकी ३७ जना फरार प्रतिवादीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

अब सरकारी वकिलले उक्त प्रतिवेदन अध्ययन गरेर मुद्दा चल्ने÷नचल्ने निर्णय लिनेछ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले धेरै जनाको एकै पटक अभियोजन गर्नुपर्ने र बिगो रकम पनि बढी भएकाले समय लाग्ने देखिएको बताए।

उनकाअनुसार अध्ययनका क्रममा सरकारी वकिलको कार्यालयले केही कागजात नपुगेमा झिकाउन सक्ने कानुनी व्यवस्था रहेको छ। त्यसपछि मुद्दा चल्ने स्थिति भएमा अभियोग पत्र बनाएर अदालतमा पेस गर्नुपर्ने उनले बताए।

कास्कीबाहेक अरू जिल्लामा रविविरुद्ध अनुसन्धान भइरहेकाले एउटा अदालतले छोड्दैमा रवि हिरासतमुक्त हुने छैनन्। कास्की अदालतले उनलाई धरौटीमा रिहा गरेमा त्यहीबाट रुपन्देही, चितवन, काठमाडौँ, पर्सा र बाँकेमध्ये कुनै एक जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिनेछ।

कास्की अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने पनि अरू जिल्लामा थुनछेक बहसका लागि उनलाई उपस्थित गराउनुपर्ने प्रहरी स्रोतले बताएको छ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शनसहित बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको साहारा, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो। सोही अनुसार प्रहरीले अनुसन्धान गरेको हो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.