काठमाडौँ : प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्ट अनुहार नदेखिने गरी तस्बिर सार्वजनिक गर्नेलाई कारबाही हुने भएको छ। कान छोप्ने टोपी लगाएका, शरीर ओढ्नेले ढाकेका, अनुहार पनि प्रस्ट नभएको तस्बिर रविको भन्दै सार्वजनिक भएको थियो।
रविको सचिवालयले बुधवार राति लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको भनेको थियो। सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ। त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो। कुन उद्देश्यमा यो फोटो बाहिर लगियो? रविको सचिवालयले प्रश्न गरेको थियो।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गत २ कार्तिकदेखि प्रहरी हिरासतमा छन्। सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका लामिछानेविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी सरकारी वकिलको कार्यालय कास्कीले गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरिरहँदा हिरासतमा राखिएको रविको तस्बिर भनेर सार्वजनिक भएको हो। तस्बिर बाहिरिए लगत्तै गृहमन्त्री रमेश लेखकले गृह प्रशासनको ध्यानाकर्षण भएको बताए।
गृहमन्त्री लेखकले कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिए।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
बुधवार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ।
मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए। ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो,’हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए।
लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति निकालेर हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिन अगाडि सामाजिक सञ्जालमा हाल चालू रहेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको जनाएको छ।
प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको अनधिकृत तस्बिर प्रति जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको सूचना अधिकारी वसन्त कुमार शर्माले निकालेको विज्ञप्तिमा लेखिएको छ।
सूचना अधिकारी शर्माले रविको भनिएको तस्बिरबारे अनुसन्धान भइरहेको बताए। ‘तस्बिर हिरासत कक्षको हो/होइन अनुसन्धान भइरहेको छ,’उनले पहिचानसँग भने,’होइन भने अफवाह फैलाउनेलाई कारबाही हुन्छ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.