रविविरुद्ध भ्याए शुक्रवार, नभ्याए आइतबार मुद्दा दर्ता

रविविरुद्ध भ्याए शुक्रवार, नभ्याए आइतबार मुद्दा दर्ता

मानव अधिकार आयोगले पाएन आइजिपी भेट्ने समय

फाइल तस्बिर

काठमाडौं : सहकारी बचत रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान सकेर प्रतिवेदन बुझाएसँगै मुद्दा दर्ताको तयारी भएको कार्यालयले जानकारी दिएको हो।

मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयका ८/९ जना अधिकारीहरू बिहान उठेदेखि मध्यरातसम्म जुटेका छन्। प्रतिवेदन अध्ययनका क्रममा आफूहरू रातदिन नभनी खटेको सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले जानकारी दिए।

सरकारी वकिलको कार्यालयका अधिकारीहरू रातभर काम गरेर भए पनि शुक्रवार नै अदालतमा अभियोजन दर्ता गर्ने तयारीमा जुटेका छन्।

कास्की जिल्ला अदालतले मङ्गलवार अन्तिम पटकका लागि थप चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सो मिति शुक्रवार सकिँदै छ। भोलि शुक्रवार परेकाले शनिवार बिदा र आइतबारसम्म पेस गर्दा पनि हुने कानुनी व्यवस्था रहेको तिवारीले बताए।

कुन दफाअनुसार मुद्दा चलाउने/नचलाउने निर्णय भने अन्तिम चरणमा हुने उनले जानकारी दिए। निकै ठुलो मुद्दा तर समय कम भएका कारणले गल्ती नगर्ने प्रयासमा रहेको उनले सुनाए।

सूर्यदर्शन सहकारीको अनियमिततामा कास्की प्रहरीले करिब २ महिना लगाएर ६०० पेज लामो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीलाई बुझाएको थियो।

रविविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन मुद्दा लगाइएको छ। प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ।

लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा मानवअधिकार उल्लङ्घन गरेको उजुरीमा मानवअधिकार आयोग भने सेलाएको छ।

नेपाल प्रहरीका आइजिपीसँग बयान लिने अड्डी कसेको आयोग उजुरीमाथिको अनुसन्धान जहाँको त्यही रहेको बताउँछ। आयोगका प्रवक्ता टिकाराम पोखरेलले आइजिपीसँग बयान लिने भने पनि समय नपाएको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.