उद्घाटन खेल जितेको जनकपुरले पायो एनपीएलको उपाधि

उद्घाटन खेल जितेको जनकपुरले पायो एनपीएलको उपाधि

राष्ट्रपति र प्रधानमन्त्रीको बधाई, देउवा र प्रचण्डले दिए पुरस्कार

काठमाडौं : नेपाली क्रिकेटको महापर्व नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो।

एनपीएलको उद्घाटन खेल पनि जनकपुरले नै जितेको थियो। एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई आठ विकेटले हराएको थियो। योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको जनकपुरले बदला लिएको छ। जनकपुरले उपाधि हात पारेसँगै कीर्तिपुर खेल मैदानमा खुसी मनाएको छ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छदै पुरा गर्‍यो। उसका लागि लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

जनकपुरका कप्तान आशिफ शेखले ३३ रन बनाउँदा हर्ष ठाकेर ३० रन जोडेर आउट भए। सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा १८४ रन बनाएको थियो। सुरुवाती १० ओभरमा शानदार ब्याटिङ गरेको सुदूरपश्चिम अन्त्यतिर राम्रो खेल प्रदर्शन गर्न नसक्दा १८४ रनमै रोकिएको हो।

सुदूरपश्चिमले जनकपुरविरुद्ध १० ओभरमै कुनै विकेट नगुमाई ९७ रन बनाएको थियो। पहिलो विकेटका लागि विनोद भण्डारी र सैफ जैबले १२ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। १२औँ ओभरको अन्तिम बलमा जैवलाई गुमाएको सुदूरपश्चिमले १३औँ ओभरको दोस्रो बलमा भण्डारीलाई गुमाउन पुग्यो।

सुदूरपश्चिमका जैबले ४३ बलमा ६९ रन बनाएर आउट भए। विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए। हरमित सिंह र ब्रान्डन म्याकमुलेनले १४/१४ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन बनाउँदा स्कट कुगेलिनले १३ रन बनाए। नरेश बुढाएरले ८ रन जोडे। जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए। जिमी निसम र ललित राजवंशी समान १/१ विकेट हात पारे।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनकपुरका मलिन्था म्यानअफ द म्याच बने। च्याम्पियन बनेको जनकपुरले एक करोड १० लाख रुपैयाँ पाएको छ भने दोस्रो हुँदै सुदूरपश्चिमले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख जितेको छ।

एनपीएलको सर्वोत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा २२७ रन बनाएका थिए भने ९ विकेट पनि लिएका थिए। उनले ओमोडाको कार जितेका हुन्।

जनकपुर बोल्ट्सका ललित राजवंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक १७ विकेट लिने नेपाली खेलाडी ललित बने। सुदूरपश्चिमका सैफ जैब एनपीएलकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने। इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर जैबले एनपीएलमा २७५ रन बनाएका थिए भने १२ विकेट लिएका थिए।

न्युजिल्यान्डका जिम्मी निशम लिगको ‘एनर्जेटिक प्लेयर अफ टुर्नामेन्ट’ बने। कर्णालीका स्पिनर विपिन शर्मा एनपीएलको उदीयमान खेलाडी घोषित भएका छन्। उनले कर्णालीलाई प्लेअफमा पुर्‍याउन १३ विकेट लिएका थिए।

एनपीएल क्रिकेटको पहिलो संस्करण सकिएको छ। २० दिनसम्म चलेको प्रतियोगितामा फाइनलसहित ३२ खेल सम्पन्न भए। प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। १६ देशका ४० खेलाडी एनपिएल खेल्न नेपाल आए।

भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म नेपाल आउँदा एनपीएलको खुबै चर्चा भयो। न्यूजिल्याण्डका जिम्मी निसम पनि एनपीएलका लागि नेपाल आए। सुरुवातदेखि नै उपाधि दाबेदारको रूपमा हेरिएको सुदूरपश्चिमले उपविजेता बन्दै एनपीएलको यात्रा सकाएको छ।

एनपीएलको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको सुदूरपश्चिमका हरेक खेलमा दर्शकहरू बिहानै मैदान पुग्थे। जुन साथ सुदूरले अन्तिम समयसम्म पाइरह्यो। खेलाडीको हौसला बढाउनका लागि देउडा गाउँदै रमाइलो गर्ने दर्शक निराश भएर घर फर्किए।

उपाधिबाट टाढिएको सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले फाइनलमा जनकपुरले राम्रो खेलेर नै उपाधि जितेको बताए। पावरप्लेको जनकपुरले सही सदुपयोग गरेका कारण जित सम्भव भएको उनले सुनाए। उपाधि जित–हार भन्दा पनि नेपाली क्रिकेटले जितेको उनको भनाइ छ।

जित्नै पर्ने खेलमा विजयी भएकोमा खुसी व्यक्त गर्दै जनकपुरका कप्तान आशिफ शेखले समर्थक खेल प्रेमी सबैलाई धन्यवाद दिए। उनले उत्कृष्ट खेल प्रदर्शनबाट जित सम्भव भएको बताए। निर्णायक खेलमा बलरले पनि राम्रो प्रदर्शन गरेको उनले सुनाए। एनपीएल हरेक खेलाडीका लागि एउटा अवसर भएको उनको भनाइ छ।

एनपीएलको उपाधि विजेता टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिए। सामाजिक सञ्जालमा मार्फत राष्ट्रपति पौडेले र प्रधानमन्त्री ओलीले एनपीएल विजेता टोली जनकपुरलाई बधाई दिएका हुन्। राष्ट्रपति पौडेलले खेलमा सहभागी सबैलाई बधाई दिँदै आगामी संस्करणमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले हार व्यहोरेको सुदूरपश्चिम रोयल्सले पनि आजको खेलमा राम्रो प्रदर्शन गरेको उल्लेख गरे। यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको उल्लेख गर्दै उनले एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद दिए।

देउवा र प्रचण्ड सँगसँगै

सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सँगै देखिए। कीर्तिपुर मैदानमा एनपीएलको फाइनल खेल हेर्न देउवा र प्रचण्ड सँगै बसे।

देउवा र प्रचण्डले एनपीएलको ट्रफी जनकपुरका खेलाडीलाई संयुक्तरुपमा प्रदान गरे। गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत नेताहरू पनि कीर्तिपुर पुगेका थिए।

आयोजकको कमजोरीले एनपीएलमा ढुङ्गामुढा र लाठी चार्ज, सात जना घाइते

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.