आयोजकको कमजोरीले एनपीएलमा ढुङ्गामुढा र लाठी चार्ज, सात जना घाइते

आयोजकको कमजोरीले एनपीएलमा ढुङ्गामुढा र लाठी चार्ज, सात जना घाइते

उद्घाटन खेलमा जनकपुर विजयी

काठमाडौं : कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर प्रहरी सहित सात जना घाइते भएका छन्।

विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, गुल्मीको कालिगण्डकी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई हाल काठमाडौँको सितापाइला ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम मुसिकोट घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय प्रेम खड्गी घाइते भएका प्रहरीले जानकारी दिएको छ।

भिड नियन्त्रण गर्ने क्रममा झडप समेत भएको छ। झडपमा धादिङ खनियावास घर भई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका सङ्घीय संसद् सुरक्षा बेश बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा काम गर्ने प्रहरी दानबहादुर राउत घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको अहिले बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलले आयोजकको कमजोरी छरपष्टिएको छ।

नेपालीमा क्रिकेट मोह रहे पनि दर्शकको व्यवस्थित सहज प्रवेश गराउन आयोजकले अझै मेहनत गर्नुपर्ने देखिएको छ। टिकट काटेका दर्शकलाई व्यवस्थित रूपमा प्रवेश गराउन नसक्दा मैदान बाहिर भिडभाड हुनुका साथै नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो। यो घटनासँगै क्रिकेटप्रेमी दर्शक आयोजकप्रति रुष्ट भएका छन्।

जनकपुरको विजयी सुरुवात

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई आठ विकेटले हराएको हो।

विराटनगरले दिएको १२८ रनको लक्ष्य १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि लहिरु मिलान्थाले सर्वाधिक नटआउट ७५ रन बनाए। हर्ष थाकेरले २९ रन जोडे । यी दुई ब्याटरले तेस्रो विकेटका निम्ति ११६ रनको शतकीय साझेदारी गर्दै जनकपुरलाई जित दिलाएका हुन्।

विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलेले एक एक विकेट लिए। त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। विराटनगरका ओपनर गप्टिलले ५५ रन बनाए।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए। किशोर महतो र हर्ष थाकेरले समान दुई/दुई विकेट लिए। एनपीएलमा भारतीय खेलाडी शिखर धवनसहित विश्वस्तरीय खेलाडीको आगमनले उत्साह थपिएको छ।

उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरुवात गर्न पाउँदा खुसी लागेको बताए। कप्तान साहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताए। उनले विदेशी खेलाडीको भर पर्नु भन्दा आफूहरूले नै राम्रो खेल्नु पर्ने प्रतिक्रिया दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.