भुटानी लडाकु गिरीको निधनमा शरणार्थीहरू स्तब्ध

भुटानी लडाकु गिरीको निधनमा शरणार्थीहरू स्तब्ध

काठमाडौँ : भुटानको शाही सेनामा बहाल रहेकै बेला राज्यद्रोहको षडयन्त्रमा १४ महिना जेल परेर छुटेपछि ज्यानको सुरक्षाका लागि स्वेच्छाले नेपाल आएका एनबी गिरीको निधन भएको छ। ससम्मान स्वदेश फर्कन नपाइ गिरीको नेपालमा स्वर्गारोहण भयो। ७० वर्षीय गिरीको काठमाडौँ चाबहिलको ओम अस्पतालमा निधन भएको हो।

भुटानबाट नेपाल हुँदै अमेरिका पुगेका गिरी एक दशकदेखि नेपालमा थिए। परिवर्तनका लागि लडेकाहरू कति अझै भुटानको जेलमा बन्द छन्। ग्रस नेसनल ह्यापिनेशको दावा गर्ने भुटानका एक अनागरिक गिरीको निधनमा नेपालसहित तेस्रो देश पुर्नवास भएका भुटानी शरणार्थीहरू स्तब्ध बनेका छन्। भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले अस्पतालमा पुगेर गिरीको निधनमा शोक व्यक्त गरे।

सामाजिक सञ्जालमा भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले एनबी गिरीको निधनको खबरले स्तब्ध भएको भनेका छन्। ‘हाम्रो समुदायले अर्का एक जना साहसी नेता गुमायो जसले अनगिन्ती अवरोधका बाबजुद अन्यायको विरुद्धमा निरन्तर आवाज उठाई रहनु भएको थियो। हामी तपाईँलाई धेरै मिस गर्नेछौँ साथै हजुरको योगदानलाई कहिल्यै भुल्ने छैनौँ दाजु। अलबिदा,’कार्कीले फेसबुकमा लेखेका छन्।

भुटानी नागरिक पूर्ण गिरीले निरन्तर लडाकु तथा साहित्यकार एनबी गिरीको अचानक निधनको खबर सुनेर साँच्चै स्तब्ध र हृदयविदारक लागेको उल्लेख गरेका छन्। ‘उनले भुटानमा प्रजातन्त्र स्थापनाका लागि लडेका थिए। उहाँ हाम्रा इमानदार नेताहरू मध्ये एक हुनुहुन्थ्यो, जुन हामीसँग छैन। हाम्रा नेताहरू अहिले पात झैँ एकपछि अर्को गर्दै झरिरहेका छन्। हामीले प्रकृतिको नियमलाई अवज्ञा गर्न सक्दैनौँ न नियन्त्रण गर्न सक्छौँ। तर स्वर्गीय एनबी गिरीले परिवर्तनको लागि निरन्तरता र लड्ने विरासत छोडेका छन्। स्वर्गीय गिरीको आत्माको चिरशान्तिको कामना गर्दछु,’उनले फेसबुकमा लेखेका छन्।

डिआर नारद पोखरेलले समुदायको सबैभन्दा बहादुर र सम्मानित सदस्य एनबी दाजुको असामयिक निधनको बारेमा थाहा पाउँदा स्तब्ध र निराश भएको लेखेका छन्। ‘हामीले विगत दुई वर्षदेखि हाम्रा मुद्दाहरूमा केही छलफल गरिरहेका छौँ। हामी नराम्रोसँग मिस गर्नेछौँ दाजु। शोक सन्तप्त परिवार, आफन्तजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। तपाईँको आत्माले शान्ति पाओस् र तपाईँको आत्माले मोक्ष प्राप्त गरोस्,’उनले लेखेका छन्।

भुटानी समुदायका अभियन्ता नारायण शर्माले यति चाँडो अपेक्षा गरिएको थिएन भनेका छन्। ‘म उनलाई केही वर्षदेखि चिन्छु। भुटानी शरणार्थीहरू सधैँ उनको प्राथमिक प्राथमिकता रह्यो। दिवङ्गत आत्माले मोक्ष प्राप्त गरुन् भनी परमात्मासँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र समवेदना व्यक्त गर्दछु,’शर्माले लेखेका छन्।

नेपालको शरणार्थी शिविरका पूर्वसचिव डिबी सुब्बाले उनी इतिहासमा रहिरहने लेखेका छन्। दिलीप दाहालले उनको अथक प्रयास र समर्पण कहिल्यै भुल्ने छैन भनेका छन्। वीरेन्द्र ढकालले ‘एक बहादुर सिपाही, प्रखर मानवअधिकार अधिवक्ता र भुटानी शरणार्थी मुद्दाका लडाकु एनबी गिरीको योगदानका लागि सलाम’भनेका छन्।

चेत तिम्सिनाले भुटानमा मानवअधिकार र साँचो लोकतन्त्रको स्थापनाका लागि लड्ने हाम्रो शक्तिमा यो वास्तवमै ठुलो क्षति भएको लेखेका छन्। ‘सन् १९९८ मा चलिरहेको आन्दोलनको बारेमा काठमाडौँमा तपाईँको निवासमा बिताएको एउटा साँझ मलाई पक्कै याद छ,’उनले सामाजिक सञ्जालमा लेखेका छन्,शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।’

गिरिले जनरव फिराद, जस्टिस टु जस्टिस भुटान, जर्नी टु भुटान फर जस्टिसलगायतका पुस्तक लेखेका थिए। सन् ९० को दशकमा भुटानले नेपालीभाषी नागरिकमाथि जातीय सफाया सुरु गर्दा गिरी शाही भुटानी सेनामा कार्यरत थिए। सेनामा बहाल रहेकै वेला गिरफ्तार भएर जेल परेका गिरी छुटेपछि देश छाडेर नेपालमा बसोबास गर्दै आएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.