काठमाडौँमा ८४ वटा योजनाको विस्तृत परियोजना, १३ वटा पार्क निर्माण गर्ने

काठमाडौँमा ८४ वटा योजनाको विस्तृत परियोजना, १३ वटा पार्क निर्माण गर्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ। यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजना छन्। यी योजनाको लागत १ अर्ब ५ करोड ९१ लाख ३ हजार रुपैयाँ रहेको छ। सहरी योजना आयोगको सचिवालयका प्रमुख धनबहादुर बस्नेतका अनुसार आयोगले अहिलेसम्म १८.६७ प्रतिशत वित्तीय प्रगति गरेको छ।

काठमाडौँ महानगरपालिकाले पुस १४ गतेका लागि नगर सभाको १६ औँ अधिवेशन आव्हान गरिसकेको छ। अहिले बजेट तर्जुमा समितिले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको समीक्षा गर्दै कार्यान्वयनमा आउन कठिन भएका कार्यक्रम र यसको सट्टा कार्यान्वयनमा लैजान आवश्यक कार्यक्रममा संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल गरिरहेको छ।

बैठकमा विषयगत समितिबाट आएका प्रस्तावहरू विभागीय प्रमुखहरूले पेस गरिरहेका छन्। विभागका प्रमुखहरू विषयगत समितिका सदस्य सचिव पनि रहने भएकोले उनीहरूले प्रगतिसँगै हेरफेर सम्बन्धी प्रस्ताव पेस गरेका छन्। बिहीबार प्रशासन, स्वास्थ्य, सम्पदा तथा पर्यटन, वातावरण, सामाजिक विकास विभाग, सहरी योजना आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, खरिद एकाइ र महानगर प्रहरी बलबाट अहिलेसम्मको प्रगति र बाँकी अवधिका लागि संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ। यसअघि सूचना प्रविधि, सार्वजनिक निर्माण, शिक्षा, पार्क तथा हरियाली प्रवर्धन आयोजना र विपद् व्यवस्थापन विभागको प्रस्तुतीकरण भइसकेको छ।

‘स्वीकृत कार्यक्रम र विनियोजित रकमबाट कुनै शीर्षकमा बजेट बचत हुन्छ। कुनैमा रकम अपुग हुन्छ। प्राविधिक, अवधिजस्ता विभिन्न कारणले कुनै कार्यक्रम कार्यान्वयनमा लैजान नसकिने हुन सक्छ। यस्ता कार्यक्रमको सट्टा कार्यान्वयनमा आउन सक्ने र प्राथमिकतामा रहेका योजना सम्बन्धी प्रस्ताव नगर सभामा लैजान बजेट तर्जुमा समितिले छलफल गरिरहेको हो।’ बैठकमा हुने छलफलका विषयमा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन।
स्वास्थ्य विभागले विनियोजित ८६ करोड ५७ लाख रुपैयाँमध्ये कुल १४.४९ प्रतिशत वित्तीय प्रगति गरेको छ। यसमा आन्तरिकतर्फ १४.४५%, सङ्घीय सरकारको सशर्त अनुदानतर्फ २२.८२% र प्रदेश सरकारबाट प्राप्त अनुदानबाट १३.२१% प्रगति छ।

विभागका प्रमुख दिपककुमार के. सी.का अनुसार यस अवधिमा १७ हजार ६७५ जना व्यक्तिको नसर्ने खालको रोगसँग सम्बन्धित परीक्षण (स्क्रिनिङ्) भएको छ। २४ घण्टे निःशुल्क एम्बुलेन्स सेवाबाट ४ हजार ६७५ जनाले सेवा पाएका छन्। ७६ हजार ९६२ जना बालबालिकालाई विशेष पोलियो खोप उपलब्ध गराइएको छ। स्वास्थ्य शिविरबाट ५ हजार ३० जनाको स्वास्थ्य जाँच गरिएको छ। स्वास्थ्य सम्बन्धी जानकारीका लागि २४ सै घण्टा हटलाइन सेवा उपलब्ध गराइएको छ।

१ हजार ६२३ पिन्ट रक्त सङ्कलन भएको छ। २१० जना महानगरवासीलाई निःशुल्क रक्त तथा रक्तजन्य पदार्थ उपलब्ध गराएको छ। बिमाको पहिलो सम्पर्क विन्दु ५ वटा थप गरेर १० वटा बनाइएको छ। विपन्न नागरिक १६ वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरेको छ। ५० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ।

विभागले १८६ जना क्यान्सरका बिरामी, ४९ जना मिर्गौलाका बिरामी, १७४ जना मुटु रोग भएका बिरामी, अन्य ५ जना गरेर ४१४ जनालाई विपन्न नागरिक उपचार सिफारिस गरेको छ। यस्तै विपन्न, बेवारिसे, असहाय वर्गका २८ जनालाई लक्षित वर्गको उपचार सिफारिस गरेको छ। १६ वटा स्वास्थ्य संस्थाहरूको दर्ता र नवीकरण गरेको छ। ५० वटामा अनुगमन गरेको छ।

सम्पदा तथा पर्यटन क्षेत्रमा विनियोजित २ अर्ब ४८ करोड २८ लाख ८७ हजार रुपैयाँको ९ प्रतिशत खर्च भएको छ। सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार यस अवधिमा १८ वटा मूर्त सम्पदा सम्बन्धी योजना सम्पन्न भएका छन्। उपभोक्तामार्फत सञ्चालन गरिएका ६१ वटा योजना निर्माणाधीन अवस्थामा छन्। सार्वजनिक खरिद प्रक्रियाबाट ३२ वटा योजना अगाडि बढाइएका छन्। ७ वटा योजना खरिद प्रक्रियामा छन्। अमूर्त सम्पदातर्फ ३३ वटा योजना कार्यान्वयनमा छन्।

सामाजिक विकास विभागको विनियोजित रकम ६४ करोड ९६ लाख २५ हजार रुपैयाँ हो। यसमा स्वर्णिम योजनाअन्तर्गत ११ करोड ६३ लाख रुपैयाँ, गौरव योजनामा २० करोड रुपैयाँ र नियमित कार्यक्रममा बाँकी रकम विनियोजित छ। यसमध्ये अहिलेसम्म ५.५९ प्रतिशत खर्च भएको छ।

विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १ हजार ३३६ वटा संस्था नवीकरणका लागि र ५९ वटा नयाँ दर्ताका लागि सिफारिस गरेको छ। विभागका प्रमुख समीक्षा निरौलाका अनुसार अहिलेसम्म १ हजार ४९ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। जसमा ‘क वर्ग’का ३०८ जना, ‘ख वर्ग’का ४९४ जना, ‘क वर्ग’का १८८ जना र ‘क वर्ग’का ५९ जना छन्।

वातावरण व्यवस्थापन विभागको चालु आर्थिक वर्षको बजेट ६९ करोड ९३ लाख रुपैयाँ हो। विभागका प्रमुख सरिता राईका अनुसार यसअन्तर्गत नियमित कार्यक्रममा ११.२१%, क्रमागततर्फ ११.७२% र स्वर्णिम योजनामा ०.६३% खर्च भएको छ।
यस अवधिमा विभागले वडा नं. ५, ७, १०, १२, १९, २०, २४, २५ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ।

रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर त्यसबाट उत्पादन भएको फोहर त्यसै ठाउँमा जैविक मल बनाएको छ। रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शंखपार्क, पुष्पलाल पार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको छ। नदी सफाइ र आकस्मिक नदी सफाइ कार्यक्रमअन्तर्गत महानगरपालिका भएर बग्ने ८ वटा नदी र नदी किनाराको सफाइका लागि गएको कार्तिक महिनादेखि १२० जना सरसफाइकर्मी परिचालन गरिएको छ। उनीहरूले दैनिक २० देखि २५ मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेका छन्।

सहरको भूगोललाई ६ वटा क्षेत्रमा बाँडेर क्षेत्रगत रूपमा फोहरमैला सङ्कलन र ढुवानीका लागि सार्वजनिक खरिद प्रक्रियाबाट बोलपत्रदाता आव्हान गरिएको छ। अहिले यसको मूल्याङ्कन भइरहेको छ।

महानगरपालिकामा १६ (एउटा आयोजनासहित) वटा विभाग, ३१ वटा महाशाखा, ५५ वटा शाखा, ४ वटा सचिवालय, छन्। नगर सभा, नगर कार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विभागको सङ्गठन संरचना छ। यससँगै प्रमुखअन्तर्गत सहरी योजना आयोग, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, जग्गा एकीकरण आयोजनाहरू (चमतीः, मनोहरा र नयाँबजार), अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, सार्वजनिक निजी साझेदारी एकाइ र सल्लाहकार रहने व्यवस्था छ।

उपप्रमुख मातहतमा न्यायिक समिति, राजस्व परामर्श समिति, कार्यक्रम तथा बजेट तर्जुमा समिति, बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति छन्।

प्रमुख प्रशासकीय अधिकृत मातहतमा खरिद एकाइ, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ, महानगर प्रहरी बल र आन्तरिक लेखा परीक्षण तथा सम्परीक्षण एकाइ छन्। प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका छुट्टाछुट्टै सचिवालय छन्।
नगर सभाअन्तर्गत लेखा समिति, विधायन समिति र सुशासन समिति छन्। कार्यपालिकाअन्तर्गत वडा समिति, वडा कार्यालय र विषयगत समिति छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.