काठमाडौं : त्रिभुवन विश्वविद्यालयको असली रूप त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा देखिएको छ। दीक्षान्त समारोहको ५० वर्ष पुगेको अवसरमा मनाइएको स्वर्ण महोत्सव पनि उस्तै भद्रगोल देखिएको हो।
दीक्षित हुने १४ हजार तीन सय आठ विद्यार्थी र केही अभिभावकले रङ्गशाला भरियो। तर बस्ने ठाउँ र सही व्यवस्थापन नहुँदा अभिभावक र विद्यार्थी भेट हुन नसक्ने अवस्था आयो।
त्यतिमात्र होइन उपस्थित विद्यार्थीले प्रमाणपत्र लिन घन्टौँ लाइन बस्नुपर्यो। जस्तो लाइन परीक्षा फारम भर्न बल्खुमा बाह्रै महिना विद्यार्थी बसिरहेका देखिन्छन्।
त्रिपुरेश्वरमा स्वर्ण महोत्सव मनाइरहँदा विभिन्न ३५ बुँदे माग राखेर उपकुलपतिको कार्यालयअगाडि १८औँ दिनदेखि धर्नामा बसिरहेका स्वतन्त्र विद्यार्थी युनियनका सचिव सिद्धान्त भट्टले सम्बन्धित सङ्कायलाई दीक्षान्त समारोह गर्न दिए यस्तो भद्रगोल नहुने बताए।
बिहान १० बजेभित्र विद्यार्थी र अभिभावकलाई बोलाएर अढाई घण्टा पछि कार्यक्रमस्थल पुगेका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा, सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र उपकुलपति प्रा.डा. केशरजंग बरालले भाषण गरे।
सिनेट बैठकमा घेराबन्दीमा परेका उपकुलपति बरालको मन्तव्यमा न त सुध्रिने प्रतिबद्धता थियो न सुधार गर्ने योजना थियो। सुधारको प्रयास गर्ने बचन दिएका कुलपति ओली पनि साबिकै जस्ता गफ दिएर फर्किएर।
सहकुलपति शिक्षामन्त्री भट्टराईले भने दीक्षित विद्यार्थीलाई हेर्दै देशभित्र अवसरको अभाव भएकाले विद्यार्थीहरू बिदेसिनुपर्ने बाध्यता रहेको स्वीकार गरिन।
त्यतिमात्र होइन उनले विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू उद्यम क्षेत्र र बजारका आवश्यकताहरूसँग मेल खाने बन्न नसक्दा देशभित्र बेरोजगारी बढेको बताइन।
तर सरकारको नेतृत्व गरिरहेका त्रिविका कुलपति ओलीले समस्या समाधानका लागि सरकारले काम गर्ने बताएनन्। बरु उनले विद्यार्थीलाई आफूसँग भएका ज्ञानलाई सही सदुपयोग गरी जिम्मेवार बन्न सुझाए।
उनीहरूको भाषण केवल मञ्चमा बसेका अतिथि, नजिकै अगाडी बसेका केही विद्यार्थी र अभिभावकले मात्र सुनेका थिए। १५ हजारभन्दा धेरै विद्यार्थी र अभिभावक उपस्थित कार्यक्रमको साउन्ड सिस्टम कुनै कोठा या हलमा भएको जस्तो सुनिएको थियो। जुन समारोहबाट विभिन्न १७ विधाका पुरस्कार वितरण गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.