प्रतिपक्षी दलदेखि निजामती कर्मचारीसम्मको धम्की

प्रतिपक्षी दलदेखि निजामती कर्मचारीसम्मको धम्की

काठमाडौं : काँग्रेस एमालेको सरकार प्रतिपक्षी र साना दलसँगै सरकारी तलब भत्ता बुझ्ने कर्मचारीको धम्कीको घेरामा परेको छ।

निजामती कर्मचारीको एउटै ट्रेड युनियन बनाउन सत्तारुढ दुई दल सहमत भएको अभिव्यक्ति बाहिरिएसँगै तीनै दल निकटका कर्मचारी सङ्गठनका नेताहरू रिसाएका छन्। उनीहरूले दलगत ट्रेड युनियन नहटाउन खबरदारी गरेका छन्।

सरकारी भवन कब्जा गरेर ट्रेड युनियनको कार्यालय स्थापना गरेका दल निकट कर्मचारी सङ्गठनहरूले संयुक्त विज्ञप्ति नै जारी गरेका छन्। कर्मचारीतन्त्रमाथि आफ्नो स्वार्थपूर्ति गर्न जस्तासुकै काम पनि गर्ने र राजनीतिक नेतृत्वको ‘एस म्यान’ हुने प्रवृत्ति देखिने गरेको आरोप लाग्दै आएको छ।

सरुवा, बढुवा र अवकाशपछिको आकर्षक नियुक्तिको लोभका कारण राजनीतिक नेतृत्वलाई सके रिझाउने, नसके नचिढाउने प्रवृत्ति कर्मचारीको नेतृत्वमा देखिँदै आएको छ। यस्तो अवस्थामा निजामती ऐनलाई आगामी संसदमा पेश गर्ने तयारी भइरहँदा कर्मचारी सङ्गठनले विरोध सुरु गरेका हुन्।

निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकार सङ्घीय व्यवस्था नै खारेजीको पक्षमा उभिएको शङ्का पैदा भएको बताए। उनले राज्यले कर्मचारी भनेको भ्रष्टाचारी हुन् भन्ने पर्यायवाची बनाउन खोजिरहेको बताए।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका सचिव हरिलाल विश्वकर्माले प्रजातान्त्रिक आन्दोलनमा कर्मचारीले खेलेको भूमिका र आईएलओ अभिसन्धिले दिएको अधिकार कसैले खोस्न नसक्ने सुनाए।

नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कर्मचारीको मनोबल गिराउने गरी सङ्घीय निजामती ऐन ल्याउन नहुने बताए।

नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरूको सङ्गठन एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालका महासचिव प्रकाश राईले आफूहरूलाई दलको झोला बोक्न कुनै इच्छा नरहेको बताए।

तर, राजनीतिक विश्लेषक प्रज्वल चापागाईँले कर्मचारीहरूले विभिन्न पार्टीको मातहतमा रहेर सङ्गठन चलाउन नहुने सुझाव दिए।

प्रचण्डले भ्रष्टाचारी लखेट्ने

संसद्का ठुला दुई दल काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार साना दलहरूको निशानामा परेका छन्। काँग्रेसको तुलनामा पार्टी भित्रबाट चरम असन्तुष्टि खेपिरहेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमुख प्रतिपक्ष देखि अन्य साना दलहरूले घेराबन्दी सुरु गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सुशासनका विरोधी तथा भ्रष्टाचारका पक्षपतिहरुले आफूलाई सरकारमा बस्न नदिएको आरोप लगाए। कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभामा प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाए भ्रष्टाचारीहरूलाई देशबाट लखेट्ने दाबी गरे।

उनले माओवादी पहिलो शक्ति बने अहिलेको सरकारले छोपेर राखेका गिरिबन्धु, ओम्नी, वाईडबढिमा भएको भ्रष्टाचारका एक÷एक फाइल खोल्ने आश्वासन दिए।

ओलीविरुद्ध निकै आक्रामक बनेका प्रचण्डले सोमबार ओलीकै गृहजिल्लामा जाने बताउँदै दर्जनौँ एमालेलाई माओवादीमा प्रवेश गराउने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अहिलेको सरकार भ्रष्टहरूको झुन्डले बनेको टिप्पणी गरे। इटहरीमा भएको कार्यक्रममा उनले काँग्रेस र एमालेले विगतमा गरेका गल्तीहरूलाई सच्याउनका लागि हीनता बोध गर्दै सरकार बनाएको ठाने पनि कालान्तरमा त्यस्तो नपाएको बताए।

एमालेबाट छुटिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि ओलीको उछितो खनेको छ। महासचिव घनश्याम भुसालले ओलीलाई पार्टीको नेतृत्व नै छाड्न सुझाव दिए। आफ्नो चाकडी नगर्नेलाई ओलीले शत्रु ठान्ने गरेको भुसालले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.