एमालेको ओली नीति : वर्षौँ योगदान गरेकालाई हटाउने, मोडल भित्र्याउने

एमालेको ओली नीति : वर्षौँ योगदान गरेकालाई हटाउने, मोडल भित्र्याउने

देशको कामभन्दा पार्टी गतिविधिमा सक्रिय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली देशको कामभन्दा पार्टी गतिविधिमा सक्रिय बनेका छन्। गत असार ३० गते काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले देशलाई गति दिने बाचा गरेका थिए। तर, यो अवधिमा उनले भाषणबाजीमा बिताए।

मन्त्री र सचिवसँग कार्यसम्पादन गरेका प्रधानमन्त्री ओलीले रिपोर्ट हेर्न भ्याएका छैनन्। अहिले उनी दिनानुदिन पार्टीको बैठक र कार्यक्रममा सहभागी भएका छन्।

आइतबार उनी पर्सा जिल्ला कमिटीले औराहा पञ्चगावामा आयोजना गरेको कार्यक्रममा पुगेर दिउँसो एमाले पार्टी कार्यालय च्यासलमा सहभागी हुन भ्याए। केही दिनअघि नेता भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निकालेका ओलीले अहिले केही नयाँलाई स्वागत गरेर विरोध मत्थर गर्ने रणनीति बनाएका छन्।

पर्साको सखुवा प्रसौँनीमा आयोजित कार्यक्रममा ओलीले सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई एमालेमा स्वागत गरे। ओलीको सचिवालयले जयसवाललगायत विभिन्न पार्टीबाट पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गरेको छ। जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतोसहित नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका नेतालाई पनि ओलीले एमालेमा प्रवेश गराए। पार्टीमा वर्षौँ योगदान गरेका नेतालाई निष्कासन र निलम्बन गरेका ओलीले नयाँ अनुहार भित्र्याएपछि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिन सकिएको दाबी गरे।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एउटाको काँधबाट अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै उफ्रेर राज गरिरहने प्रचण्डको भविष्य अब सकिएको बताएका हुन्।

पर्साको कार्यक्रम सकेर दिउँसो काठमाडौँ फर्किएका ओली एमाले पार्टी कार्यालय च्यासल पुगेर नेपाल जेसिसका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायतलाई स्वागत गरे। सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता विभा बस्नेत, युवाहरू शिवानी गौतम, गायत्री बिसीलगायतले एमालेमा समाहित भएको बताए।

एमालेको सचिवालय बैठक कक्षमा न्यानो स्वागत गरेपछि पोखरेल र बस्नेतले ओलीको देश बनाउने दूरदर्शी सोच देखेर यस अभियानमा होमिएका सुनाए। आफ्ना राजनीतिक सल्लाहकार एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललाई दाहिनेतर्फ राखेर ओलीले आफूलाई मौरीसँग तुलना गर्दै नवप्रवेशीलाई सही मान्छेको सङ्गतमा आइपुगेको बताए।

हिजो अस्तिसम्म आफूलाई युवा ठानेको तर अहिले बुढेसकाल लागेको अनुभव हुन थालेको ओलीले सुनाए।

ओलीको सक्रियता देखे पछि काँग्रेस सभापति शेरबहादुर देउवा पनि आइतबार सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ केन्द्रीय निर्देशक समितिद्वारा राष्ट्रिय सभागृह काठमाडौँमा आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेल प्रेमीहरूको राष्ट्रिय भेलामा देउवाले छोटो मन्तव्य दिए।

देउवाले युवाबिना कुनै पनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताए। ‘कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन। खेलकुदमा युवाहरू बढी हुने भएकाले हामीले जोड दिनुपर्छ,देउवाले भने‚’सबै साथीहरू लागेर खेलकुद जगत्‌लाई बढाउनुपर्छ।’

अर्का पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पन्ध्रौँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरूलाई सम्मान गरे। अखिल नेपाल खेलकुद महासङ्घको आयोजनामा आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा सम्मान गरिएको हो।

प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन्।

साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै प्रचण्डले परिवारसित पनि भेट गरे। सो क्रममा दुवै जना भावुक भएका प्रचण्डको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ठ सम्बन्ध रहेको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.