सहकारी ठगीका आरोपी इजलासमै रोए, बहस स्थगित

सहकारी ठगीका आरोपी इजलासमै रोए, बहस स्थगित

काठमाडौं : सहकारी ठगीका प्रतिवादीहरूको मङ्गलवारदेखि कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसमा फरक दृश्य देखिएको छ। त्यसको एउटै मात्र कारण प्रतिवादी कृष्णबहादुर गुरुङ र सोही मुद्दामा प्रतिवादी रहेकी उनकी छोरी अर्थात् पूर्वसांसद मीना गुरुङ इजलासमै रोए।

सरकारी वकिलको कार्यालयबाट थुनछेक बहस चलिरहँदा त्यसरी इजलासमै रोएपछि इजलासको माहौल भावुक बन्यो। प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दोष रहेको उनले बताए।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णबहादुर रोएपछि छोरी मीनाले समेत आँसु झारिन। त्यसपछि माहौल भावुक बनेको थियो।

सरकारी वकिलको कार्यालयबाट बहस गर्ने क्रममा प्रस्तुत गरिएका विषयवस्तुमा प्रतिवादीलाई भावनात्मक रूपमा असहज महसुस भएको हुन सक्ने श्रेस्तेदार राजन खनालले बताए।

८० वर्षीय गुरुङले इजलासमै मर्ने अभिव्यक्ति पनि दिए। न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शर्माले बहस सुरु गरेकी थिइन।

इजलासको माहौल भावुक बनेको र कार्यालय समय पनि सकिएपछि थुनछेक बहस स्थगित गरिएको अदालत स्रोतले बताएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको हो। पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तिदेवी शर्माले बहस गर्नुभएको जिल्ला अदालत कास्कीका श्रेष्तेदार खनालले जानकारी दिए।

बहसको पहिलो दिन मङ्गलवार सबै प्रतिवादीहरूको हकमा अभियोग दाबी के छ? भन्ने विषयमा केन्द्रित रहेर बहस भएको उनले बताए।

यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लीला पछाई, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बहस भएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।

रविविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ। गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.