रविविरुद्ध मुद्दामाथि मुद्दाको चाङ

रविविरुद्ध मुद्दामाथि मुद्दाको चाङ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दामाथि मुद्दाको चाङ लागेको छ। सहकारीको रकम अपचलनको मुद्दाले रवि थिचिएका छन्।

कार्तिक २ गते पक्राउ परेका उनीमाथि एकपछि अर्को सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दर्ता हुने क्रम चलिरहेको छ।

कास्की प्रहरीको हिरासतमा रहेका उनीसहित प्रतिवादीहरूलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने आदेश हुनै बाँकी छन्। न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस चलिरहँदा रविविरुद्ध काठमाडौँमा पनि मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रतिवेदनमा १ अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने माग गरिएको छ। स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको थियो।

जीवी राईकै नेतृत्वमा यहाँ पनि करोडौँ रकम ठगी भएको प्रहरीको निष्कर्ष छ। उक्त प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा अभियोगपत्र दर्ता गर्ने छ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देही, चितवन र पर्सा प्रहरीमा उपस्थित गराएर बयान लिइएको छ। कास्की जिल्ला अदालतमा बिहीबार बल्ल जाहेरवालाको तर्फबाट थुनछेक बहस भएको छ।

जाहेरवालाको तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, युवराज पराजुली, वेदबहादुर विष्ट, पुण्यप्रसाद पराजुली र रामचन्द्र गौतमले बहस गर्नु भएको छ।

शुक्रवार पनि जाहेरवालाको तर्फबाट बहस हुने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए। सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालातर्फको थुनछेक बहस शुक्रवार सकिने भएको छ। एक दुई जनाको भए पनि जाहेरवालाको सकिएपछि प्रतिवादीतर्फको कानुन व्यवसायीहरूको बहस शुक्रवारदेखि नै सुरु हुने उनले बताए।

जाहेरवालाका तर्फबाट बहस गर्दै अधिवक्ता दिनेश त्रिपाठीले गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीको पैसाबारे थाहा नभएको जवाफ दिएर उम्कन नपाइने बताए।

लामिछानेले आफू गृहमन्त्री हुँदा अनुसन्धानलाई प्रभावित पारेको त्रिपाठीले बताए। गम्भीर प्रकृतिको अपराध गर्ने लामिछानेलाई रिहा गरेमा पीडितमाथि न्याय नहुने र तर्साउनले काम हुने आफूले इजलासमा बहस गरेको अधिवक्ता त्रिपाठीले जानकारी दिए।

शुक्रवार र आइतबार प्रतिवादीका तर्फबाट बहस सकिए सोमबार जवाफी बहस हुन सक्ने र चाँडोमा सोमबार नै थुनछेक आदेश हुन सक्ने अदालत प्रशासनले बताएको छ। जवाफी बहस सकिए पछि न्यायाधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.