काठमाडौं : सहकारीको रकम अपचलन मुद्दामा हिरासतमा रहेका प्रतिवादीहरूको कास्की जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
आइतबार लीला पछाई र छविलाल जोशीको थुनछेक बहस सकिएको छ। पछाइको तर्फबाट अधिवक्ता गणेशबहादुर भट्टराई र छविलालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरे।
दुई जना प्रतिवादीको बहसले दिन सकिएको छ। सोमबार बाँकी प्रतिवादीहरूको बयान हुनेछ। छविलालको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता थापाले अभियोग पत्र नै बनावटी देखिएको जिकिर गरे।
न्यायाधीश नितिज राईको इजलासमा छविलालले एक पैसा पनि हिनामिना नगरेको जिकिर गरेको वरिष्ठ अधिवक्ता थापाले बताए।
छविलाल सहकारीको रकम अपचलनमा गठित संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार हिरासतमा पुगेका हुन्। पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछाने पनि प्रहरी हिरासतमा छन्।
रविका बिजनेस पार्टनर छविलाल र लीलाको मात्र बहस भएको हो। रविको तर्फबाट थुनछेक बहस हुन बाँकी छ।
गोर्खा मिडियाका सञ्चालकसमेत रहेका छविलालले जीवी राई र लामिछानेले आफ्नो हस्ताक्षर किर्ते गरेर कम्पनीको उद्देश्य परिवर्तन गराएको बयान सरकारी वकिल कार्यालयमा दिएका छन्।
जोशीले आफ्नो किर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाएपछि जीवी र रविसँग सहकार्य गर्न छाडेको पनि भनेका छन्।
जोशीका कानुन व्यवसायी थापाले पनि यही नजिरलाई उद्धृत गरेर बहस गरे। उनले छविलालमाथिको अभियोग कृत्रिमको हद भएको दाबी गरे। संसद्ले समेत अभियोग लगाउन सक्ने भएपछि देश नै सकिएको वरिष्ठ अधिवक्ता थापाले उल्लेख गरे।
काठमाडौँमा पनि मुद्दा दर्ता
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले दुई जना प्रतिवादीसहित आइतबार मुद्दा दर्ता गरेको हो। स्वर्णलक्ष्मी सहकारीकी पूर्व लेखा समिति सदस्य सुनिता नेवा र उपसमिति सदस्य कमल लामालाई भने आइतबार नै अदालतमा उपस्थित गराइएको श्रेष्तेदार रामु शर्माले जानकारी दिए।
अभियोग पत्रसहित मुद्दा दर्ता भएका सुनिता र कमलको सोमबार बयान हुनेछ। यसअघि नै पक्राउ परिसकेकाहरूको पालैसँग बयान हुने उनले बताए।
फरार प्रतिवादीहरूको हकमा पक्राउ पुर्जी जारी हुनेछ। सुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको बेला काठमाडौँमा अर्को मुद्दा दर्ता भएको हो।
स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.ली.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु जीवी राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.