काठमाडौं : संविधान सभा सदस्य सुनिलबाबु पन्तद्वारा निर्मित अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र धनगढीमा विशेष स्क्रीनिङ भएको छ।
धनगढीको एसटीएस सिनेमा हलमा वृत्तचित्र विशेष स्क्रीनिङ भएको हो। वृत्तचित्रमा विशेष गरी पितृसत्तात्मक व्यवस्थामा महिलाहरू र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको यौनिकतालाई दबाउन सक्ने देखाइएको छ।
धनगढीमा वृत्तचित्र प्रदर्शन भएको पन्तले बताए। ‘वृत्तचित्र प्रदर्शनपछिको छलफल धेरै आकर्षक र सशक्त थियो,’पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सुदूर पश्चिम समाज, एकल महिला सङ्घ, फेडो, एनएचआरसी, सांसदहरू, मन्त्रीहरू, पत्रकारहरू र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई धन्यवाद।’
स्क्रिनिङलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन एसडीसी र युरोपियन युनियनले सहयोग गरेको पन्तले जानकारी दिए। वृत्तचित्रमा ‘मातृसत्तात्मक ढाँचाभित्र, छ वटा लिङ्गहरूको मान्यता हुन्छ,जसले मानव विविधताको समावेशी बुझाइ प्रदान गर्दछ,’भनिएको छ।
यो वृत्तचित्र काठमाडौँ सहित पोखरा, हेटौँडा हुँदै धनगढीमा विशेष स्क्रीनिङ भएको हो। वृत्तचित्र मङ्गलवार नेपालगन्जमा विशेष स्क्रीनिङ हुँदैछ।
नेपालगन्जको सिने रोयलमा दिउँसो १ बजे वृत्तचित्र प्रदर्शनसँगै मातृसत्तात्मक परम्पराहरूमा विशेष छलफल समेत हुने पन्तले बताए।
पन्तले यस विशेष कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको गहिरो अध्ययन गर्ने अवसर प्राप्त गर्न अनुरोध गरेका छन्।
वृत्तचित्र बुधवार सुर्खेतमा प्रदर्शन हुनेछ। बुधवार दिउँसो ३ बजे सुर्खेतको एलसिएम सिनेमा हलमा वृत्तचित्र प्रदर्शन हुने पन्तले जानकारी दिए। वृत्तचित्र अवलोकनका लागि कुनै शुल्क तिर्नु नपर्ने निःशुल्क रहेको उनले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.