काठमाडौं : तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट काठमाडौँसहित विभिन्न जिल्लामा गरी १३ जना घाइते भएका छन्।
नेपाल प्रहरी अनुसार काठमाडौँमा १, बारामा ११ र काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन्। यस्तै भूकम्पले भौतिक संरचनातर्फ २२ वटामा क्षति पुर्याएको छ।
पूर्वी नेपालका विभिन्न जिल्लामा २ वटा घरमा पूर्ण क्षति हुँदा १ घरमा आंशिक र १९ घरमा सामान्य क्षति पुगेको छ। ओखलढुङ्गामा १ पूर्ण र ३ घरमा सामान्य क्षति भएको नेपाल प्रहरीले जनाएको छ।
सोलुखुम्बुमा एक घर पुर्णरुपमा क्षति भएको छ भने १ मा आंशिक र ६ वटामा सामान्य क्षति पुगेको छ। सिन्धुपाल्चोकमा ३, खोटाङमा २, ताप्लेजुङ र रामेछापमा एक÷एक घरमा सामान्य क्षति पुगेको छ।
यी बाहेक भौतिक संरचनामा ठुलो क्षति नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवम् सूचना अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए। अझै क्षतिको विवरण सङ्कलनकै क्रममा रहेको उनले बताए।
यस्तै प्राधिकरणले भूकम्पका पराकम्पनहरु आइरहेको र पराकम्प आउन सक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन दिएको जनाएको छ।
चीनको तिब्बत प्रान्तमा गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ। भूकम्पमा परि अन्य १३० जना घाइते भएका छन्।
भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम भइरहेको छ। चिनियाँ वायुसेना प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुटेको छ।
भूकम्पका कारण यस क्षेत्रका पूर्वाधारमा ठुलो क्षति पुगेको छ। जसका कारण विद्युत् र पानी दुवैको आपूर्ति अवरुद्ध भएको छ।
चीनको राज्य परिषद्ले भूकम्प प्रभावित क्षेत्रमा कार्यदल पठाएको छ भने उक्त क्षेत्रमा लेभल–३ आपत्काल घोषणा गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण लिन स्थानीय अधिकारीहरूले उक्त क्षेत्रका जनतासँग सम्पर्क गरिरहेका छन्।
ठुलो सङ्ख्यामा हाताहाती भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्। पहिलो भूकम्प लगत्तै त्यस क्षेत्रमा क्षेत्रमा थप दुई वटा भूकम्प गएको थियो।
भूकम्पको धक्कालाई मध्यनजर गर्दै चीनले सगरमाथाको पर्यटकीय क्षेत्र पर्यटकका लागि बन्द गरेको छ। भूकम्पको प्रभाव नेपालसहित भारत, भुटान र बङ्गलादेशसम्म पुगेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.