विद्यार्थीलाई उक्साउँदै ओलीले देखाए दम्भ

विद्यार्थीलाई उक्साउँदै ओलीले देखाए दम्भ

384
SHARES

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिन भनेका छन्। विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गरेका छन् ओलीले।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरूको वैशाखी नटेकी आफै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे। अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र महान् सफलता हासिल गर्न शुभकामना दिए।

नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुरु भएको उल्लेख गर्दै उनले प्रजातन्त्र स्थापना पहिले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिनुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरे। पार्टी भित्र आफ्नो बोली नै शासन लागू गराएका ओलीले विद्यार्थी सङ्गठनमा पनि त्यो दम्भ प्रस्तुत गरे।

भीम रावललाई पार्टीबाटै निष्कासन र मीनबहादुर गुरुङले दानमा लिएको जग्गा दानमा नदिन खबरदारी गरेका डा. बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई निलम्बन गरेका ओलीले चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरेका हुन्।

अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको उल्लेख गरे।

मार्छौँ र सिद्ध्याउँछौँ भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको उनले बताए। “खै एमाले, कहाँ छ एमाले भन्नेहरूलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ,,” अध्यक्ष ओलीले भने, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन। यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ। म साथीहरूलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु।”

नयाँ विद्यार्थीलाई रिग्रेड फिल गराउने हर्कत भने विश्वविद्यालयहरू कायम छ। जसको कुलपति समेत उनै प्रधानमन्त्री ओली छन्। विद्यार्थी नेतालाई उक्साउने र नयाँ विद्यार्थीलाई राजनीति चङ्गुलमा पार्ने ओलीको अभिव्यक्तिले शिक्षा क्षेत्र कमजोर बनेको टिप्पणी भइरहेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ भर्ना भएका विद्यार्थी छात्रावासमा पस्न सकेका छैनन्।

र्यागिङ गर्ने विद्यार्थीलाई निष्कासन गरेको प्रशासनले नयाँ विद्यार्थीलाई सुरक्षा दिन सकेको छैन। हातमा फलामको पाइप बोकेर छात्रावासको ढाेकाढाेकामा लात्ती हान्ने, धर्काउने लगायतका क्रियाकलापले स्वास्थ्य विज्ञान प्रतिष्ठान अशान्त छ।

प्रशासनले विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति नगराउँदा विद्यार्थी रातको चिसोमा बाहिर परेका छन्। प्रधानमन्त्री ओली भने विद्यार्थीलाई राजनीतिक प्रशिक्षण दिएर उक्साइरहेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताए।

कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो।

आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.