काठमाडौं : ८४ दिनपछि ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फेरी हिरासत पुगेका छन्।
सहकारीको रकम अपचलनको आरोप लागेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिए पनि काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न आदेश दिएको छ।
बिहीबार राति रिहा भएका लामिछाने शुक्रवार बेलुकी काठमाडौं आएका थिए। आइतबार आफैँ काठमाडौं अदालतमा उपस्थित भएका लामिछानेलाई हिरासतमै राख्ने आदेश भएको हो।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई प्रहरी परिसर, काठमाडौँको न्यायिक हिरासतमा राखिएको छ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा आइतबार बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए। अदालतको मूल ढोकाबाट सलाम गर्दै निस्किएका लामिछानेलाई समर्थकहरूले ‘रवि दाइ’ भन्दै हुटिङ लगाए।
अब लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन्। लामिछानेका तर्फबाट बहसका लागि १० जना कानुन व्यवसायीको वकालतनामा परेको अदालत प्रशासनले जानकारी दिएको छ। सुरुमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन्।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
रविलाई सरकारी वकिलले सो रकम बिगो माग दाबी गरेको छ। उनको नामबाट ७५ लाख रुपैयाँ विदेश पठाएको समेत खुलेको छ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.