काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान मिच्न दबाब दिएको दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। संविधान उल्लङ्घन गरेर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेकाले अब छिट्टै ढल्ने दाबी उनले गरे।
वर्तमान सरकारलाई प्रचण्डले असंवैधानिक भनेका छन्। संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले सरकारबाट बाहिरिएपछि वर्तमान सरकारलाई असंवैधानिक भनेका हुन्।
उनले उपधारा (३) अनुसार संसद्को ठुलो दल काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा उपधारा (२) अनुसार नै सरकार बन्नु असंवैधानिक भएका उल्लेख गरे। संसद्मा काँग्रेस पहिलो र एमाले दोस्रो दल छन्। प्रचण्डले पहिलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दल प्रतिपक्षमा बस्नु पर्ने लोकतान्त्रिक अभ्यास रहेको पनि सुनाए।
राष्ट्रपतिलाई उपधारा (२) अनुसारकै मिलीजुली सरकार बनाउन दबाब दिएको दाबी प्रचण्डले गरे। ‘उपधारा (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसके उपधारा (३) अनुसार सबभन्दा ठुलो दलको सरकार बन्ने किटेर भनेको छ,’इफ-बट’ केही छैन,’प्रचण्डले भने,’राष्ट्रपतिको पनि उपधारा ३ अनुसार नै सरकार बनाउने भन्ने थियो,राष्ट्रपतिमाथि पनि दबाब दिइयो। धर्मसंकटमा पारियो।’
संविधानको धारा ७६ को उपधारा (२) मा ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’लेखिएको छ।
उपधारा (३) मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
माओवादी अध्यक्ष प्रचण्डले उपधारा ३ को सरकार बनाउनुपर्ने बताए। उपधारा ३ अनुसार सरकार बन्दा संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।
प्रचण्ड देउवालाई प्रधानमन्त्री बनाउन संविधानको धारा, उपधारा सुनाउन थालेका छन्। प्रचण्डले सरकार ढली हाल्ने डरले सदन बोलाउन ढिलो गरिरहेको दाबी समेत गरे। ‘सदन बोलाउनु पर्ने हो। सदन बोलाउन भनेका छौ,’उनले भने,’ढिलो गर्ने र अध्यादेश ल्याउने उल्टो बाटोमा लागेको छ।’
सदनबाट सजिलै पास गर्ने दुई तिहाइ हुँदा समेत सरकार सरकारले सदन फेस गर्ने साहस नराखेको प्रचण्डको भनाई थियो। ‘नियत नै खराब छ। दुई तिहाइ भए पनि सदन फेस गर्ने नैतिक साहस छैन,’उनले भने,’सरकार कमजोर, निरीह, गैरजिम्मेवार बनेको छ।’
सरकारले आफ्नो आयु आफैँ छोट्टाएको दाबी प्रचण्डले गरे। सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले पत्रकारहरूसँग अप्राकृतिक, अपारदर्शी र असंवैधानिक सरकार अन्ततः ढली नै हाल्ने सुनाएका हुन्।
उनले वर्तमान सरकार टिकिराखोस् भन्ने आफ्नो चाहना नरहेको पनि बताए। ‘यो सरकार टिकिराखोस् रहिरहोस् भन्ने चाहना हुँदैन,’उनले भने,’अन्ततः यो ढली नै हाल्छ। धेरै आयु छैन।’
प्रचण्डले सरकार कहिले ढल्छ भनेर मिति तोक्न भने आफूले नसक्ने बताए। ‘मैलै मिति तोक्ने र मिल्ने कुरा पनि होइन। जबरजस्त असन्तुष्टि बाहिर आइसकेको छ,’उनले भने,’सहज ढङ्गले जाने अवस्था छैन। सरकारले आफ्नो आयु आफैँ छोट्टाएको छ।’
तत्काल सरकार गिराउने र सरकारमा जाने एक्सरसाइज नगरेको प्रचण्डले उल्लेख गरे। नेपाली काँग्रेस र नेकपा एमालेसँग पालैपालो गठबन्धन अदलबदल गरेका प्रचण्डलाई दुई ठुला दल मिलेर प्रधानमन्त्री पदबाट हटाए। प्रचण्ड हाल प्रमुख प्रतिपक्षी दलको नेता छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.