रविले पाए हिरासतको छुट्टी, प्रफुल्ल हुँदै दिए ‘न्याय नमरेको’ प्रतिक्रिया

रविले पाए हिरासतको छुट्टी, प्रफुल्ल हुँदै दिए ‘न्याय नमरेको’ प्रतिक्रिया

काठमाडौं : काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

गत बिहीबार कास्की अदालतको आदेशपछि ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौँबाट पनि धरौटी नै माग गरिएको छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा दुई दिनसम्म चलेको थुनछेक बहसपछि तेस्रो दिन न्यायाधीश अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी आदेश आए लगत्तै बुधवार साँझ ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए।

लामिछानेले इजलासमा आफ्नो नागरिकता प्रकरण उठाएर मुद्दा खारेज गर्न आग्रह गरेका थिए। बहसको अन्तिममा बोल्न खोजेका लामिछानेलाई न्यायाधीश अधिकारीले रोक्न खोजे पनि ५/६ मिनेट मात्रै बोल्ने भनेर जिद्धि गरेका लामिछानेले नागरिकताको कुरा निकाले पछि न्यायाधीशले रोकेर अब आदेश कुर्न जवाफ दिए।

बहस लम्बिएर आदेश नआउने चिन्तामा गरेका लामिछानेले आफ्नै पक्षका वकिललाई समेत बहस छोटो गर्न भनेका थिए।

आदेशपछि धरौटी रकम बुझाएर हिरासत मुक्त भएका लामिछानेले समर्थकहरूको भिडलाई हात हल्लाउँदै आफ्नो समर्थन गर्ने सबैलाई धन्यवाद दिए।

अदालतको सर्वसाधारण प्रवेश गर्ने मूल गेटसम्म हिँडेर आएका उनले प्रफुल्ल मुद्रामा आफू न्यायालयलाई सघाउन आएको बताए। अदालतप्रति आभार व्यक्त गर्दै लामिछानेले ‘यो देशमा न्याय मरेको छैन’ भनेका छन्।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गर्दै लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए। पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए।

बहस सकिएर फर्कने क्रममा त्रिपाठीमाथि अदालत परिसरमै रवि समर्थकले हातपातको प्रयास समेत गरेका छन्। थुनछेक आदेशको पर्खाइमा रहेको आक्रोशित भीड लामिछाने विरुद्धमा बहस गरेको भन्दै त्रिपाठीमाथि जाई लाग्यो।

आक्रोशित भिडले अधिवक्तालाई घेरेपछि प्रहरीले कडा सुरक्षा दिएर त्रिपाठीलाई बाहिर निकालेका थिए। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिपाठीमाथि हातपात भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति निकालेर पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको उल्लेख गरेको छ। घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले निकालेको विज्ञप्तिमा लेखिएको छ।

लामिछानेले कास्की र काठमाडौँका सहकारी ठगी प्रकरणमा १ करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। लामिछानेविरुद्ध कास्की र काठमाडौँ बाहेक रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान जारी छ।

अहिलेसम्म आधिकारिक रूपमा लामिछानेविरुद्ध काठमाडौँ र कास्की बाहेक अन्य जिल्लाबाट पत्र नआएकाले पत्र पाएमा आफैँ हाजिर हुन जाने तयारीमा रहेको लामिछानेका कानुन व्यवसायी खगेन्द्र प्रसाद चापागाईँले बताए।

बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनबारे लामिछानेमाथि भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

उनीमाथि बुधवार नै मुद्दा दायर गर्ने तयारी भए पनि लुम्बिनी प्रदेशमा बुधवार सार्वजनिक बिदा रहेकाले बिहीबार या शुक्रवार मुद्दा दर्ता हुन सक्ने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीकी सूचना अधिकारी एवम् सहायक जिल्ला न्यायाधिवक्ता उमा कुमारी केसीले जानकारी दिइन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.