काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अझै १५ दिन सङ्घीय संसद्को अधिवेशन आव्हान नहुने सङ्केत दिएका छन्। प्रतिपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने धम्की दिइरहँदा प्रधानमन्त्री ओलीले आगामी १५ दिनपछि मात्र संसद् अधिवेशन सुरु हुने बताए।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले जारी भएका अध्यादेश १५ दिनपछि मात्रै पेस हुने बताएका हुन्। सङ्घीय संसद्को पहिलो बैठकमै अध्यादेशहरू पेस गर्नुपर्ने संसदीय नियम छ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिले चाँडोमा पनि संसद् अधिवेशन सुरु हुन अझै १५ दिन कुर्नुपर्ने भएको हो। प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको दाबी गरे। ती अध्यादेशहरू आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिए।
अघिल्लो प्रधानमन्त्रीत्वकालमा घरघरमा ग्यास पाइप र पानी जहाजको कुरा गरेर जग हँसाएका ओलीले यो पटक फलामखानी र मल कारखाना स्थापनाको क्रममा रहेको सुनाएका छन्। स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको उनले बताए।
बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरू आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने सुनाए।
सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ। “हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन्। धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्याँस उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगहरूले पुनःजीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ,”प्रधानमन्त्री ओलीले भने,“ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ। देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु। तपाईँहरू लगानी गर्नुस्, लगानी खोज्दै अरूलाई खोला दिइरहनु पर्दैन।”
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताए। व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको उनले बताए।
प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.