काठमाडौं : वर्तमान सत्ता गठबन्धनलाई अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक दाबी गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झन् विवादित मोर्चाबन्दी गरेका छन्।
अप्राकृतिक ढङ्गले अब यो सरकार चल्दैन भनेका प्रचण्डले एक सातापछि राजा चाहिन्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि सङ्घीयता विरोधी राष्ट्रिय जनमोर्चासहितलाई एक ठाउँमा उभ्याएका छन्।
सरकार गठनको ६ महिनापछि प्रचण्डले समाजवादी मोर्चालाई ब्युँताउने मात्र होइन रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि, माओवादी हुँदै एमाले छोडेर आजपा गठन गरेका प्रभु साहलाई समेत समेटेका छन्। नेकपा एकीकृत समाजवादी र महेन्द्रराय यादव नेतृत्वको नेसपा पनि प्रचण्डकै छातामुनि देखिएका छन्।
सरकारको नेतृत्व गरिरहेको एमाले सांसद सूर्य थापाले विपक्षी दलको मोर्चाबन्दीलाई राजतन्त्रको पुनर्स्थापनादेखि सहकारी ठगी गर्न पाउनैपर्नेसम्म एकैठाउँमा भएको टिप्पणी गरेका छन्। ‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनर्स्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनै पर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेन्डा (बिना चिल्लाको च्वाईच्वाईं)’ थापाले फेसबुकमा लेखेका छन्,‘उहिले प्रतिगमनको खतरा भयो, अहिले अँगालोमा।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले कसैलाई सत्ता दिलाउनलाई नभई संसद् बैठकका लागि आफू मोर्चामा सहभागी भएको बताए।
मोर्चामै रहेका तर पछिल्लो समय निष्क्रिय जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने शनिवार सिरहा पुगेर प्रचण्डलाई साथ नदिने बताएका छन्। प्रचण्ड नेतृत्वको सरकारका बेला आफ्नो दल विभाजन भएकोतर्फ लक्षित गर्दै पिठ्युँमा छुरा रोप्नेसँग सहकार्य नहुने यादवले बताए।
शनिवार नै मोरङको ग्रामथान गाउँपालिका–५ ले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले काँग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी गरेको सुनाए।
प्रचण्डले विपक्षी ७ दलको साझा धारणा सार्वजनिक गरेको भोलिपल्ट सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारमा दुई तिहाइको भिड भए पनि सदनको सामना गर्न डराएको टिप्पणी गरेका छन्।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै सापकोटाले विशेष अधिवेशन बोलाउने सुनाए। आफ्नो ३२ सिटले नै सबै प्रदेशमा आगो बाल्ने उनको चेतावनी छ।
सोही कार्यक्रममा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धाकधम्कीको राजनीति छाडेर बुद्धि विवेकसहितको स्वस्थ प्रतिस्पर्धामा आउन काँग्रेस सांसद मोहनबहादुर बस्नेतलाई आग्रह गरे।
एउटै क्षेत्रका यी दुई नेताको एमाले–काँग्रेसको गठबन्धन बनेपछि सम्बन्ध बिग्रिएको छ। गत मङ्सिर २२ गते त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित एक सभामा बोल्ने क्रममा काँग्रेस सांसद बस्नेतले धम्कीपूर्ण भाषा प्रयोग गर्दै सापकोटामाथि चुनौती दिएका थिए।
त्यसयता सार्वजनिक समारोहमा खासै बस्नेतमाथि कुनै टिप्पणी नगरेका सापकोटाले शनिवार बाह्रबिसे पुगेर बस्नेतलाई प्रतिस्पर्धाको छेउमा पनि आउन सक्ने अवस्था नभएको व्यक्ति भनेका छन्। सापकोटाले बस्नेतलाई संसद्को सामान्य ज्ञान नभएको आरोप लगाए।
मधेसमा शहीदको अपमान
मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मधेस सरकारले आयोजना गरेको सातौँ बलिदानी दिवस समारोह शहीदका परिवारले बिथोलेका छन्।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेसी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम शहीद परिवारले आफूहरूलाई अपमानपूर्वक एक/एक हजार रुपैयाँ दिएको भन्दै बिथोलेका हुन्।
रोजगारी दिने आश्वासन दिएर ठगेको र अहिले सम्मान गर्ने भनेर बोलाएर बेइज्जत गरेको भन्दै शहीद परिवारले आक्रोशसमेत पोखे। अवस्था अशान्त बनेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले आक्रोशलाई सम्मान गर्दै समस्याहरूको सम्बोधन गर्ने आश्वासन दिए।
उनले मधेस आन्दोलनका क्रममा घाइतेहरूको अवस्था हेरेर एक लाख, डेढ लाख र दुई लाखसम्म बैङ्क खातामा पठाउने तथा अन्य समस्याहरूको पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
वि.सं.२०६३ माघ ५ गते मधेस आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए। मधेस आन्दोलनमा प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन्।
मधेस आन्दोलनको जगमा स्थापित भएका मधेस केन्द्रित दलले भने छुट्टाछुट्टै कार्यक्रम गरेर १८ औँ बलिदानी दिवस मनाएका छन्। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव दिवस मनाउन सिरहा पुगे भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले काठमाडौँमै दिवस मनाएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले भने केही नेताले सत्तासामु आत्मसमर्पण गरेकै कारण मधेस आन्दोलन कमजोर बनेको टिप्पणी गरे।
पार्टी छोड्दै हिँड्दै गरेका महतोले सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए।
लोसपाले काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा शहीदहरूको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको छ।
कार्यक्रममा लोसपा उपाध्यक्ष अजय कुमार गुप्ताले मधेसीसँगै महिला, मधेसी, जनजाति र दलितका मुद्दा अझै सम्बोधन हुन नसकेको बताए।
उनले वर्तमान सरकार र सिङ्गो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.