काठमाडौँ : सहकारीको रकम अपचलनले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत धाउँदैमा ठिक्क भएको छ। कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका लामिछाने काठमाडौँ हुँदै बयान दिनका लागि रुपन्देही जिल्लामा हाजिर हुँदैछन्।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले १७ जनाविरुद्ध थप र २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएसँगै अदालतले म्याद जारी गर्ने तयारी गरेको छ। प्रतिवादीहरुविरुद्ध कानुन अनुसार मुद्दा दर्ता भएको मितिमा म्याद काटिने रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए।
लामिछानेलाई सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको अभियोग छ। पोखरा, काठमाडौँ हुँदै लामिछानेसहितका प्रतिवादीहरुविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको हो।
काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बापत बैङ्क ग्यारेन्टी बुझाएर रिहा भएका लामिछाने स्वयं उपस्थित भए पनि कानुन अनुसार म्याद काटिनेछ। मङ्गलवारसम्म लामिछाने स्वयं उपस्थित नभए प्रहरीले पक्राउ गरेर उपस्थित गराउनेछ।
लामिछानेलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की पुर्याइएको थियो। उनी ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका थिए। २५ पुसमा ६५ लाख रुपैयाँ धरौटी बापत बैङ्क ग्यारेन्टी बुझाएर रिहा भएका लामिछाने २८ पुसमा काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए।
थुनछेक बहस लम्बिँदा उनी माघ १ गतेसम्म प्रहरी हिरासतमा बसे। २ माघमा रिहा भएका लामिछाने अब फेरि रुपन्देही प्रहरीको हिरासतमा पुग्नेछन्। लामिछाने हिरासत बस्ने र अदालत धाउने क्रममा अब रुपन्देही पुग्नु पर्ने भएको हो।
लामिछाने सभापति रहेको रास्वपाका नेता कार्यकर्ता पनि कास्की, काठमाडौँ हुँदै अब रुपन्देहीमा प्रदर्शन गर्न पुग्ने तयारीमा छन्। अदालतमा लामिछानेको उपस्थिति र रास्वपाका नेता कार्यकर्ताको प्रदर्शन सँगैसँगै हुने गरेको छ।
काठमाडौँ जिल्ला अदालतमा सहकारी पीडितको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई लामिछाने समर्थकले हातपात नै गरे। लामिछानेको पक्षमा बहस नगरेको भन्दै हातपातमा उत्रिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कानुन व्यवसायीमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ। रास्वपा भने घटनाबाट जोगिन अनुहार छोपेर बसेको छ। विरोधमा बोल्नेको मुख थुन्न अग्रसर भएको आरोप रास्वपामाथि लागेको छ।
सहकारी पीडितको बचत रकम फिर्ता गराउनुको सट्टा रास्वपा सभापति लामिछाने जोगाउने ध्याउन्नमा लागेको छ। पीडितको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेर रास्वपाले बचपन देखाएको टिप्पणी समेत भएको छ।
सभापतिदेखि, महामन्त्री हुँदै प्रवक्ता समेत कार्यवाहकमाथि कार्यवाहक तोकिएको रास्वपाकी वर्तमान कार्यवाहक प्रवक्ता प्रतिभा रावलले अदालत परिसरमा भएको घटनाको अनुसन्धान भइरहेको बताइन।
उनले अदालत परिसरमा नाराबाजी गर्ने रास्वपाको नीति नरहेको बताइन। ‘शुभेच्छुकहरू उपस्थित भएका हुन्,पार्टीको सहभागिता होइन,’उनले पहिचानसँग भनिन्,’हातपात गरेको आरोपमा पक्राउ परेका पार्टीका सदस्य भएको तथ्य र प्रमाणले पुष्टि गरेन।’
अदालत परिसरमा भएको घटनाको पार्टीको अनुशासन आयोगले अध्ययन गरिरहेको उनले जानकारी दिइन। थप अर्का एक व्यक्ति पक्राउबारे पनि पार्टी सम्बन्ध भए नभएको अनुसन्धान भइरहेको उनले बताइन।
पार्टी सभापति लामिछाने बयानका लागि रुपन्देही अदालतमा उपस्थित हुने दिन टुङ्गो नलागेको उनले बताइन। ‘कहिले उपस्थित हुने भन्ने अहिले केही छैन,’उनले भनिन्,’होमवर्क भइरहेको छ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.