कर्णालीमा ‘जुँगे’ मुख्यमन्त्री र कोशीमा २–४ मुक्का लगाउने अभिव्यक्ति

कर्णालीमा ‘जुँगे’ मुख्यमन्त्री र कोशीमा २–४ मुक्का लगाउने अभिव्यक्ति

काठमाडौं : कर्णाली प्रदेश सभाका सांसदहरू व्यक्तिगत आरोप प्रत्यारोप र तुष पोख्न उद्धत देखिएका छन्। कर्णाली प्रदेशको हिउँदे अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री यामलाल कँडेलसहित पूर्वमुख्यमन्त्रीद्धय जीवनबहादुर शाही र राजकुमार शर्माबीच वाक युद्ध चलेको छ।

उनीहरूले यसअघि सत्तापक्ष र प्रतिपक्षमा हुँदा विभिन्न ठाउँमा एक अर्काले दिएका अभिव्यक्तिबारे आपत्ति जनाउँदै संसद्लाई आफ्नो आक्रोश पोख्ने माध्यम बनाएका छन्।

आफू सरकारको नेतृत्वमा हुँदा गरेको विरोध र अहिलेको सरकारको आलोचनामा यी तीन नेताको सम्बोधन केन्द्रित देखिएको छ। वाइडवडी काण्डमा अख्तियारले दायर गरेको मुद्दामा सफाइ पाए पछि संसदमा फर्किएका नेपाली काँग्रेसका नेता शाहीले पूर्वमुख्यमन्त्री शर्मालाई असंसदीय ‘जुँगे’ शब्द नै प्रयोग गरे।

माओवादी काँग्रेसको सरकार अपवित्र भन्ने एमालेका नेता कँडेल अहिले मुख्यमन्त्री हुँदा पवित्र गठबन्धन कसरी भयो भनेर उनले प्रश्न सोधे। दुई दलबीच भएका ८ बुँदे सहमतितर्फ ध्यानाकर्षण गराउँदै उनले शर्मा र कँडेल दुबैलाई एकै तिरजस्तो जुँगे शब्द प्रहार गरे।

आफूलाई मुख्यमन्त्री पदबाट हटाउन विभिन्न षडयन्त्र भएको सुनाउँदै शाहीले नेकपा माओवादीसँगको साझेदारमा गाडी काण्ड निकालेर मुद्दासमेत हाल्न लगाएको आरोप पनि लगाए।

साझेदार नेपाली काँग्रेसका नेता शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले आफ्नो फोन नउठाएको भन्दै वर्तमान एमालेसँगको गठबन्धन सरकार नै छाडिदिने चेतावनी दिए।

शाहीभन्दा अघि बोलेका माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शर्माको आक्रोश भने वर्तमान मुख्यमन्त्री एमालेका कँडेलप्रति बढी पोखिएको छ। अघिल्लो सत्ता गठबन्धनमा एउटै कित्तामा बसेका शर्मा र कँडेलबीचको सम्बन्ध अहिले फेरि चिसिएको स्वयम् उनीहरूकै अभिव्यक्तिबाट पुष्टि भएको छ। अघिल्लो संसदमा एमाले नेताको अभिव्यक्तिप्रति शर्माले आपत्ति जनाए।

कोशीमा चोटग्रस्त पूर्वमुख्यमन्त्रीको २–४ मुक्का लगाउने अभिव्यक्ति

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा कुटिएको विषय कोसी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठकमा उठेको छ।

आफूमाथि भएको कुटपिटको घटनाको विषय पूर्वमुख्यमन्त्री थापाले सोमबारको प्रदेशसभा बैठकमा उठाए। चोटग्रस्त आँखा लिएरै बैठकमा सहभागी भएका थापाले गत शनिवार झापामा आफूमाथि भएको कुटपिट भएको जानकारी दिए।

सहर्ष रूपले सुरक्षाकर्मीले भिआइपीलाई सडकमा साइड माग्दा आफूमाथि एक्कासि आक्रमण भएको उनको भनाई छ। आक्रमणकारीलाई २–४ मुक्का आफूले पनि लगाउने सोच रहेको बताउँदै उनले साथीहरूले रोकेको सुनाए।

अहिले देशमा अराजकता बढेको र सोही क्रममा काठमाडौं जिल्ला अदालत अगाडी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि नै आक्रमण भएको उनले बताए।

थापाले प्रदेश नामकरणको विषयलाई लिएर सुरक्षा थ्रेट रहेको सुनाए। शान्ति सुरक्षाको विषयमा कमजोर नभए पनि कोसी प्रदेशमा पहिले पनि प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरू र सांसदमाथि आक्रमण भएको दृष्टान्त उनले सुनाए।

आफूमाथि योजनाबद्ध घटना नभएका कारण उजुरी पनि नदिएको उनले बताए। पूर्वमुख्यमन्त्री थापाले आफूले गाडी सुविधा लिएको विषयमा पनि विरोध नगर्न आग्रह गरे।

पूर्वमुख्यमन्त्री थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ।

काँग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका थापाले अदालतको आदेश आफूले मान्ने बताए। थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश दिएको हो।

नेकपा एमालेले पनि पूर्वमुख्यमन्त्री थापामाथि भएको आक्रमणप्रति दुख व्यक्त गर्दै घटनाको निन्दा गरेको छ। एमाले संसदीय दलका उपनेता तिल कुमार मेन्याङवोले उक्त घटनाको निन्दा गरेका हुन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.