नवलपुर : अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र कावासोतीमा रहेको गणपति चलचित्र मन्दिरमा प्रदर्शन भएको छ।
नेपालको संस्कृति र लैङ्गिक विविधताको अवस्था, महिला अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र मातृसतात्मक समाजको चित्रण गर्ने उद्देश्यका साथ वृत्तचित्र प्रदर्शन गरिएको निर्माता एवं संविधान सभा सदस्य सुनिलबाबु पन्तले जानकारी दिए।
वृत्तचित्रले नेपालको प्राचीन इतिहासमा महिला अधिकार र तेस्रोलिङ्गी वर्गका मानिसहरूलाई सम्मानका साथ समाजमा पहिचान स्थापित गरिरहेको चित्रण गरेको छ।
वर्तमान समयमा नेपालको मातृसत्तात्मक र पितृसत्तात्मक समाजको विभेद र वैचारिक द्वन्दलाई वृत्तचित्रमा देखाइएको छ। कावासोतीमा प्रदर्शन गर्नुअघि सो वृत्तचित्रलाई काठमाडौँ लगायत मोफसलको धनगढी, नेपालगन्ज, सुर्खेत, हेटौडा र पोखरामा प्रदर्शन गरी कावासोतीमा प्रदर्शन गरिएको निर्देशक पन्तले बताए।
वृत्तचित्र हेरिसकेपछि उपस्थित दर्शकहरूले हरेक विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने विषय वृत्तचित्रमा रहेको बताए। उनीहरूले सामाजिक विषय अध्ययन गराउने शिक्षकहरूले एकपटक वृत्तचित्र हेर्ने पर्ने प्रतिक्रिया दिए।
नेपालको प्राचीन इतिहास र किम्बदन्तीहरूमा आधारित वृत्तचित्रलाई अझै ठुलो बजार र लक्षित समुदायसम्म पुर्याउन दर्शकहरूले आग्रह गरे।
वृत्तचित्र अवलोकनका लागि दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेसहित कावासोतीमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय पुगेका थिए।
उनीहरू आफ्नो समुदायको वास्तविक इतिहास बाहिर ल्याउने वृत्तचित्र एक पटक सबैले हेर्नुपर्ने बताए। वृत्तचित्र सोमबार काशी सिनेप्लेक्स भैरहवामा विशेष स्क्रीनिङ हुँदैछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.