काठमाडौं : प्रतिनिधिसभाका सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलहरू माघ १८ देखि सुरु हुने हिउँदे अधिवेशनको तयारीमा जुटेका छन्। सभामुख देवराज घिमिरेले सोमबार सत्तापक्ष र प्रतिपक्षी दलका सचेतकहरूलाई संसद् अधिवेशन छलफल गर्न बोलाएका छन्।
सभामुख घिमिरेले आइतबार सत्ता र प्रतिपक्षी दुबैसँग छुट्टाछुट्टै छलफल गरे। उनले सदनलाई प्रभावकारी ढङ्गले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई बिजनेस दिन आग्रह गरे।
संसदीय समितिहरूमा छलफलकै क्रममा रहेका र अघिल्लो संसददेखि थाँती रहेका विधेयकलाई अघि बढाउन सभामुखले सत्तापक्षको सक्रियता चाहनुभएको काँग्रेस मुख्य सचेतक श्याम घिमिरेले बताए।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको जानकारी दिए।
विपक्षी दलका प्रमुख सचेतकसँगको छलफलमा पनि सभामुखले विचाराधीन विधेयकलाई छिटो पारित गर्नका लागि भूमिका खेल्न आग्रह गर्नुभएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। आफूले कानुन निर्माणलाई तीव्रता दिन सरकारसँग पहल गर्न सुझाव दिएको परियारले सुनाए।
संसद् बैठकको कार्यसूची तय गर्न मङ्गलवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।
दलहरूको तयारी
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक नेकपा एमालेसँगको सहकार्य ८४ को चुनावसम्म कायम राख्ने निचोडमा पुगेको छ। विपक्षी दलहरूले सरकार ढल्ने दाबी गरिरहेका बेला काँग्रेसले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने बताएको छ।
संसदीय दलका नेता शेरबहादुर देउवाले ओली सरकारले हालै जारी गरेका अध्यादेशकाबारेमा एक ढिक्का भएर संसद् र बाहिर डिफेन्स गर्न निर्देशन दिए।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गरिरहेको कामबारे जानकारी दिए। महामन्त्री गगन थापाले उच्च स्तरीय संयन्त्रबारे ब्रिफिङ गरे। कानुन सुधार कार्यदलका सदस्यले अध्यादेशका विषयवस्तुबारे जानकारी दिएको काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
सोमबार बस्ने काँग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र विधेयकबारे सांसदहरूले उठाएका प्रश्नको नेता र मन्त्रीहरूले जवाफ दिएर टुङ्गोमा पुगिने घिमिरेले बताए।
नेता शेखर कोइराला र शशाङ्क कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लय मिलाउन खोजेकोतर्फ लक्षित गर्दै उनले पार्टीको निर्णयलाई बोकेर हिँड्नु पार्टी कार्यकर्ताको धर्म भएको बताए।
सरकारको नेतृत्व गरिरहेको एमालेले भने संसदीय दलको बैठक मङ्गलवार बोलाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक भने सदन सुरु हुने अघिल्लो दिन १७ गते बस्नेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अधिवेशनलगायतका विषयमा छलफल गर्न सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थलीमा सचिवालय बैठक बोलाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.