सदनमा अध्यादेश रोक्ने विपक्षीको सङ्केत, सुरु भयो भनाभन

सदनमा अध्यादेश रोक्ने विपक्षीको सङ्केत, सुरु भयो भनाभन

काठमाडौं : सरकारले हालै जारी गरिएका अध्यादेशहरूलाई फास्ट ट्र्याकबाट पारित गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको सिफारिसमा जारी भएका अध्यादेशहरूलाई हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रबिधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

राष्ट्रपतिबाट जारी भएका सहकारी, सार्वजनिक सेवा प्रवाह, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सहित विभिन्न ६ ओटा अध्यादेशहरू संसद्को पहिलो बैठकमै पेस गरिँदैछ।

तर, विपक्षी दलहरूले संसद्को पहिलो बैठकमा नै अध्यादेश प्रस्तुत हुन नदिने चेतावनी दिएका छन्। उनीहरूले अध्यादेशको सामूहिक प्रतिवाद गर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएकोले विपक्षी दलहरूले सामूहिक विरोध गर्ने बताएका छन्।

समाजवादी मोर्चा नेपालले आज काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद्मा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाए।

उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरू सामूहिक रूपमा सदनमा प्रस्तुत हुने बताए।

माओवादी केन्द्रले अध्यादेश प्रस्तुत हुन नदिने सङ्केत मङ्गलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा देखाएको छ। अध्यादेशलाई लिएर सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी माओवादीबीच भनाभन नै भएको छ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको बैठकमा काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादीका प्रमुख सचेत हितराज पाण्डेबीच भनाभन भएको हो।

बैठकमा माओवादीले सरकारले अध्यादेश ल्याएकोमा आलोचना गर्दा काँग्रेसका प्रमुख सचेतक घिमिरेले अब सदन अध्यादेशबाटै चल्ने बताएपछि नोकझोक चलेको माओवादीका प्रमुख सचेत हितराज पाण्डेले जानकारी दिए।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने आफ्नो भनाई विरुद्ध माओवादीले अतिरञ्जित प्रचार गरेको आरोप लगाए। बैठकपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै घिमिरेले कानुन बनाउने प्रक्रियालाई गति दिन मात्रै भनेको उल्लेख गरे।

बैठकले संसद्को सम्भावित कार्यतालिका हेरफेर सहित सार्वजनिक गरेको छ। यसअघि सात दिन बैठक बस्ने भनिएपनि एक दिन कटौती गर्दै ६ दिन मात्रै बैठक बस्ने कार्यकातालिका सार्वजनिक भएको हो।

हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते बस्नेछ। त्यसपछि माघ २४, २५, २७, २८ र २९ गते बैठक बस्ने छ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा अधिवेशन आव्हान पत्रको जानकारी दिइनेछ । ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली, राष्ट्रपति कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पहिलो बैठकमा हुने कार्यतालिका सार्वजनिक भएको छ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा मन्तव्य राख्ने र लगत्तै अध्यादेशहरू पेस गर्ने तालिका छ। विपक्षी दलहरूले अधिवेशन सुरु हुन दिए पनि अध्यादेश पेस गर्न नदिने सङ्केत दिएका हुन्।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भने सरकारले ठिक समयमा महत्त्वपूर्ण अध्यादेश ल्याएकोले यसको जस लिने गरी प्रस्तुत हुन आफ्ना सांसदहरूलाई भनेको छ।

मङ्गलवार बसेको संसदीय दलको बैठकले सरकारमाथि आक्रमणको निसाना बनाएको र मुलुकलाई अन्यौलता तथा भ्रमतिर लैजाने खेतीपाती भइरहेको निष्कर्ष निकालेको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले बताए। यसका विरुद्ध सशक्त रूपमा संसद्मा प्रस्तुत हुन एमालेले सांसदहरूलाई निर्देशन दिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.