सहकारी अध्यादेशमा एमालेकै असन्तुष्टि

सहकारी अध्यादेशमा एमालेकै असन्तुष्टि

256
SHARES

काठमाडौं : सत्तारुढ नेकपा एमालेले सहकारी अध्यादेशका प्रावधानमा प्रधानमन्त्री केपी ओली समक्ष असन्तुष्टि जनाएको छ। सरकारले धेरै राम्रा विषयलाई समेटेर सहकारी अध्यादेश ल्याउने प्रयास गरे पनि अपेक्षाकृत रूपमा केही विषय समावेश नभएको जनाउँदै एमालेले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई नै भेटेर तीन बुँदे असन्तुष्टि जनाएको हो।

एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी र राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले अध्यादेशका कतिपय व्यवस्था परिवर्तनयोग्य रहेको भन्दै प्रधानमन्त्री ओलीलाई नै भेटेर लिखित ध्यानाकर्षण गराएको हो।

विशेष गरी सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी निर्वाचित हुन नपाउने प्रावधान परिवर्तन गर्नुपर्ने माग राष्ट्रिय सहकारी महासङ्घले राखेको छ। महासङ्घले अध्यादेशका तीन वटा बुँदामा असहमति जनाएको अध्यक्ष ओमदेवी मल्लले बताइन।

सुझाव लिँदै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयक ल्याउँदा यी विषयमा छलफल गरिने र संयुक्त सरकार भएकाले राजनीतिक दलसँग पनि परामर्श गर्नुपर्ने बताए। माग सम्बोधन हुनेमा महासङ्घकी अध्यक्ष मल्लले विश्वास व्यक्त गरिन।

अर्को सत्तारुढ दल नेपाली काँग्रेसले पनि सहकारी क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्ने बताएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘काँग्रेस र सहकारी’ विषयक गोष्ठीमा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले समयअनुकुल सहकारी मैत्री ऐन बनाउन आवश्यक ठानेर अध्यादेश ल्याएको जिकिर गरे।

सहकारी प्रकरणले थलिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने भ्रष्टाचार काण्डको छानबिन गर्न दबाब दिने भएको छ। नक्कली भुटानी शरणार्थी काण्डदेखि बालुवाटार जग्गा प्रकरण, गिरीबन्धु टिस्टेट सबै भ्रष्टाचार काण्डको छानबिन गर्न संसदीय समिति गठन गर्न दबाब दिने नीति रास्वपाले लिएको छ।

सभापति रवि लामिछाने सहकारी प्रकरणमा संसद् पदबाट निलम्बित भएपछि रिसले चुर भएको रास्वपाले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने दबाब दिने भएको हो।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँण पुर्पक्षका लागि थुनामा परे पनि धरौटी बुझाएर रिहा भएका छन्। पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी जेल परेका छन्। त्यसबेला लामिछाने गृहमन्त्री थिए।

तर, अहिले काँग्रेस र एमालेको सरकारले प्रतिशोध साँधेर लामिछानेलाई सहकारीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको आरोप रास्वपाले लगाएको छ। लामिछानेलाई पक्राउ गर्नु सरकारको एक मात्र उपलब्धि भएको रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए।

काँग्रेस र एमाले नयाँ शक्तिलाई उदाउन नदिने रणनीतिमा लागेको आरोप समेत रास्वपाले लगाएको छ। रास्वपाले आफूलाई नयाँ शक्तिको रूपमा आएको दाबी गरेको छ। नयाँ शक्तिको चार चरण हुने सुनाउँदै उपाध्यक्ष वाग्लेले अहिले रास्वपामाथि आक्रमण भएको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.