काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ७३ जिल्लामा एचपीभी खोप अभियान सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयबाट सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मीहरूलाई एचपीभी खोप भएको भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै अभियान शुभारम्भ गरे।
खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको दाबी गरे। उनले नेपाली नागरिक बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए।
सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाए।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताए। मन्त्री पौडेलले यो खोपले स्वास्थ्यमा कुनै असर नगर्ने पनि सुनाए।
अभियानका क्रममा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिकालाई खोप दिने सरकारको लक्ष्य छ।
काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ। सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका खोप केन्द्र सञ्चालन भएको महानगरपालिकाले जनाएको छ। यसमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन्।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सुरु भएको हो।
खोप अभियानमा २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन्। त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइएको भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न भएका छन्।
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआत अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ। एचपीभी खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.