रविले गोर्खा मिडियाबाट श्रीमतीको नाममा चेक काटेको फेला

रविले गोर्खा मिडियाबाट श्रीमतीको नाममा चेक काटेको फेला

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोग दर्ता भएको छ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ठगीमा मुद्दा दर्ता भएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सूचना अधिकारी विश्वकर्माले बताए।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो। रवि लामिछानेको नाम किटान गरिएको थिएन।

मङ्गलवार दर्ता भएको मुद्दामा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बमजन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठको नाम किटान गरिएको छ।

साहरा सहकारीबाट ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ बिगो रकम फिर्ता पाउनुपर्ने माग दाबी जिल्ला सरकारी वकिलको कार्यालय चितवनले गरेको छ।

अब प्रतिवादीहरूको बयान, बहस र त्यसपछि थुनछेक आदेश हुने अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए।

लामिछाने अब चितवन जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। कास्की, काठमाडौं र रुपन्देहीमा लामिछानेको थुनछेक बहस सकिएको छ। उनी तीन वटै जिल्ला अदालतमा धरौटी रकम बुझाएर रिहा भएका छन्।

लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको छ। श्रीमती आबद्ध गोपीकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको अभियोग पत्रमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्क प्रालिको बैङ्क खाताबाट लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको ५९ लाख ३८ हजार २५१ र गोपीकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार रुपैयाँ रकम भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा साहारा सहकारीबाट गोर्खा मिडियामा जम्मा हुन आएका रकममध्येबाट लामिछानेको एकल हस्ताक्षरले ८१४ वटा चेक मार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ र जीवी राईसमेतको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको देखिएको उल्लेख छ।

तर लामिछानेले भने कुनै पनि खाताको सञ्चालक वा हस्ताक्षरकर्ता हुनु खाताको आम्दानीको श्रोत बारे जानकार हुनु नभएको बताएका छन्। भुक्तानीका लागी जारी भएका चेकहरू विभिन्न व्यक्ति एवं संस्थाहरूसँग गरिएका सहमति, सम्झौता, बोर्ड निर्णय एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको निर्देशन पालना गरी जारी गरिएको लामिछानेको जिकिर छ।

प्रतिवादी छविलाल जोशीले भने गोरखा मिडिया नेटवर्कमा आर्थिक कारोबारमा गितेन्द्र बाबु राई र रवि लामिछानेलाई नै थाहा होला भनेका छन्। रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेको जोशीको बयान पत्रमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.