काठमाडौं : सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेश पारित गर्ने तयारी गरेको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सरकारले संसद् अधिवेशन सुरु हुनुअघि जारी भएका ६ वटा अध्यादेश पारित गर्ने उल्लेख छ।
हिउँदे अधिवेशनको पहिलो बैठक १८ गते पेस गरिएका अध्यादेश प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
अध्यादेश निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ। अघिल्लो दिन सभामुख देवराज घिमिरेको पहलमा बुधवार सिंहदरबारमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने सहमति गरिएको छलफलपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।
८० भन्दा धेरै विरोधका सूचना भएकाले फास्ट ट्याकबाट टुङ्ग्याउने तयारी गरिएको हो। अध्यादेशको विपक्षमा परेको प्रस्तावमा एक जनाले प्रस्तावका रूपमा लैजाने र प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावउपर समर्थकहरूले बोलेर विषय टुङ्ग्याइने उनले बताए।
अध्यादेशको प्रस्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रस्तावकले फिर्ता लिन सक्ने गरी कार्यतालिका बनाइएको छ। प्रस्ताव फिर्ता लिन नचाहेको खण्डमा प्रस्तावलाई निर्णयार्थ एक पटक मात्रै प्रस्तुत गर्ने कानुन मन्त्री चौरसियाले बताए।
पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएको अवरोधबारे पनि छलफल भएको सत्तापक्षका प्रमुख सचेतक बर्तौलाले सुनाए। विरोध पनि सल्लाहबाट हुने संसदीय अभ्यासमा रास्वपाले भाडाकुटी खेलेको जस्तै अभ्यास गरेको भन्दै उनले विरोध जनाए। विना कारण ९ महिनासम्म संसद् अवरोध गरेको एमालेले नयाँ दल रास्वपाले गर्दा विश्वभर नेपालको संसद्को दुखत चित्र देखिएको हास्यास्पद टिप्पणी समेत गरेको छ।
अघिल्लो बैठकमा मागेको आकस्मिक समय सभामुखले नदिए पछि रास्वपाले हिउँदे अधिवेशन सुरु भएको पत्र पनि वाचन गर्न दिएको थिएन। पटक पटकको आग्रह पनि नमानेपछि सभामुखले बैठकको कार्यसूची अघि बढाए पछि रास्वपाका सांसदहरूले १५ मिनेटका लागि बैठक बहिस्कार गरेर बाहिर निस्किएका थिए।
रास्वपा बुधवार बसेको संसदीय दलको बैठकले बिहीबारको संसद् बैठकमा सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ। विशेष समयमा समय पुगेसम्म सभापति लामिछानेको सहकारी प्रकरणसहित पार्टीका विषयमा बोल्ने निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन।
संसद्को बिहीबारको बैठकमा प्रतिपक्ष दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी गरेका छन्। सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्न समय माग गरेका छन्।
सत्ता गठबन्धनको प्रतिनिधिसभामा बहुमत भए पनि राष्ट्रिय सभामा विधेयक र अध्यादेश पारित गर्न अप्ठेरो पर्ने भएको छ। राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक देखिएको छ।
जसपा नेपालका तीन जना सांसदले जता मत दिए उतै बहुमत पुग्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष दुवै जसपा नेपालका नेताहरूसँग संवादमा रहेका छन्। न सत्तापक्षमा न प्रतिपक्षमा रहेको यादव नेतृत्वको पार्टीलाई मनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश राष्ट्रिय सभाबाट फेल गराउने रणनीति बनाएका छन्।
तर, प्रचण्डसँग यादव सन्तुष्ट छैनन्। सरकारमा हुँदा पार्टी फुटाएको आरोप यादवले प्रचण्डमाथि लगाउँदै आएका छन्।
जसपा नेपाल भने राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको विषयवस्तु समेत अध्ययन गरिरहेको छ। बिहीबार बिहान बस्ने जसपा नेपाल संसदीय दलको बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने नेताहरू बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.