चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राखिएको छ। सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बुधवार भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मामा छाडिएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।
बयान लगत्तै थुनछेक बहस सुरु भए पनि नसकिएकाले अदालतले बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको स्रेस्तेदार आचार्यले बताए। काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै लामिछानेका समर्थकहरूले नाराबाजी सहित विरोध गरेका थिए।
जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित तीन जनाले बहस गरे। जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरे।
प्रतिवादी लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन्। बाँकी कानुन व्यवसायीहरूको बहस बिहीबारबाट फेरि सुरु हुनेछ।
त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन्। सम्भवतः बिहीबार नै आदेश आउने छ। साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दामा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएपछि लामिछाने बिहान आफैँ उपस्थित भएका थिए।
चितवनमा रवि सहित १५ जना विरुद्ध पूरक अभियोग पत्र दायर भएको छ। यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो।
अभियोगपत्र छानबिन गर्न समिति
मुद्दाको फैसला नआउँदै सरकारी वकिलको कार्यालय चितवनले रवि विरुद्ध दायर गरेको अभियोगपत्रमाथि साँठगाँठ गरेको आशङ्कामा छानबिन समिति नै गठन भएको छ।
ठगीमा मात्रै मुद्दा चलाउन रविसँग साँठगाँठ गरेको आशङ्कामा महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिका सदस्यहरूमा सहन्यायधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल, उच्च सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र सदस्य सचिवमा महान्यायाधिवक्ता कार्यालयका उपन्यायधिवक्ता रुद्रप्रसाद आचार्य रहेका छन्।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता दाहालका अनुसार चितवन सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्र त्रुटिपूर्ण देखिएकाले छानबिन समिति गठन गरिएको हो।
लामिछाने विरुद्ध अन्य तीन अदालतमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाइए पनि चितवन जिल्ला अदालतमा ठगीको मात्र अभियोग लगाइएको छ।
गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बालाजुबाट पक्राउ परेका रवि ८४ दिनपछि धरौटी रकम बुझाएर हिरासतबाट निस्किएका थिए।
कास्की, रुपन्देही, काठमाडौँसम्म आइपुग्दा रविले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन्। कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख धरौटी बुझाएका रविले रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर रिहा भएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.