सेनाले चलाएको गोली लागेर जङ्गली हात्तीको मृत्यु

सेनाले चलाएको गोली लागेर जङ्गली हात्तीको मृत्यु

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले चलाएको गोली लागेर एउटा जङ्गली हात्ती मरेको छ। निकुञ्ज कार्यालयका अनुसार गोली लागेर ‘मकुना’ नाम गरेको जङ्गली हात्ती मरेको हो।

कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको दाबी गरेको छ। गत असोजदेखि नै सौराहा आसपास क्षेत्रको बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको हात्तीलाई निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले ५–६ वटा हात्तीको सहायतामा धपाएर कोर इलाकामा पठाउने क्रम चलिरहेको थियो।

‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो। अन्य विकल्प नभएका कारण दुई राउन्ड हवाई फायर भयो। त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेन्जर श्याम तामाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो’ निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सोही क्रममा निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा मकुनाले घरेलु हात्तीमाथि आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए।

त्यसपछि दुई राउन्ड हवाई फायर गर्दा पनि नभागेको र रेन्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न कठिन भएपछि थप चार राउन्ड गोली चलाइएको सूचना अधिकारी मगरले बताए।

गोली लागेपछि भागेको हात्ती एक किलोमिटर टाढा मृत भेटिएको थियो। पोस्टमार्टम गरी हेर्दा हात्तीको दाहिने घाँटीमा एउटा गोली लागेका कारण मृत्यु भएको पाइएको निकुञ्ज कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

बुधवार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो।

नेपालको भाले हात्तीको लामो दाह्रा हुन्छ। दाह्रा नहुने भाले जङ्गली हात्ती मकुना निकै नै कम हुन्छन्। गत वर्षको मङ्सिरमा मकुना चितवन कुमरोजमा देखा परेको थियो। यो वर्षको असोजदेखि मकुना निकुञ्ज आडको बस्ती सौराहा कुमरोज क्षेत्रमा देखा परेको थियो।

निकुञ्जले निकालेको विज्ञप्ति

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.