निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चितवनमा धरौटीमा रिहा भए रवि, प्रचण्डले दिए साथ

चितवनमा धरौटीमा रिहा भए रवि, प्रचण्डले दिए साथ

चितवनले परिवर्तनको सङ्केत गरेको दाबी

266
SHARES

काठमाडौं : चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल प्राप्त प्रमाणका आधारमा दोषी करार गरेको छ।

तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल ५४ लाख रुपैयाँ धरौट वा जमानत वा बैङ्क जमानत लिएर रिहा गर्न आदेश दिएको छ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख र रुपन्देहीमा १ करोड बैङ्क ग्यारेन्टी पेस गरेर रिहा भएका थिए। लामिछानेले चितवनसमेत गरेर हालसम्म २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

लामिछानेले अदालतमा बयान गर्दा आफू गोर्खा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशक रहेको, आफ्नो शेयर रहेको विषयलाई अन्यथा नभनेको र प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको भन्ने तथ्यलाई स्वीकार गरेका छन्।

लामिछानेले कम्पनीका चेकहरूमा आफूले हस्ताक्षर गरी विभिन्न व्यक्ति र संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेकहरू जारी भएको, ती चेकहरू अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरिएको बयान दिएको अदालतको आदेशमा उल्लेख छ।

अदालतमा धरौटी बुझाएर रिहा भएका लामिछानेले आफ्नो सांसद पद निलम्बनमा जालझेल भएको बताएका छन्। कास्की, काठमाडौं र रुपन्देहीमा कुनै प्रतिक्रिया नदिएका लामिछानेले चितवनको आदेशपछि भने सांसद पद निलम्बनमा जालझेल गरेको बताएका हुन्।

उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको बताए। उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै परिवर्तन भएरै छाड्ने दाबी समेत गरे। उनले त्यसको सङ्केत चितवनले गरेको बताए।

रविलाई प्रचण्डको साथ

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र रवि लामिछानेको बचाउमा उत्रिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामिछाने सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि किन देशको सबैभन्दा ठुलो सहकारी ठगका रूपमा देशभर दौडाइरहेको भनेर प्रश्न गरे।

काँग्रेसतर्फ लक्षित गर्दै प्रचण्डले हिजो रविलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइ छाड्ने षड्यन्त्रमा लागिपरेको आरोप लगाए। अदालतले धरौटीमा छाडिसके पछि सांसद पद निलम्बनमै राख्नुपर्ने कारण पनि प्रचण्डले खोजे।

सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण र अपराधपूर्ण भएको प्रचण्डको जिकिर छ। रास्वपा सांसद असिम साहले लामिछानेको सांसद पद निलम्बन फुकुवा नभए अदालत जाने चेतावनी दिए।

समाचार शेयर गर्नुहोस्
266
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.