सामाजिक भेदभावलाई जरैदेखि उखेल्ने भट्टराईको प्रस्ताव

सामाजिक भेदभावलाई जरैदेखि उखेल्ने भट्टराईको प्रस्ताव

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सुरु भएको छ। महाधिवेशनमा वैकल्पिक नयाँ शक्ति निर्माणका लागि भन्दै डा. बाबुराम भट्टराईले राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेस गरेका छन्।

‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षक दिएका भट्टराईले समुन्नत समाजवादमा समाजमा कायम रहने जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक/सांस्कृतिक विविधतालाई सामाजिक पुँजीको रूपमा सम्मान र संरक्षण गरिनेछ भनेका छन्।

पहिचान र अधिकार सहितको सङ्घीयताको कार्यान्वयन गरिने, लोपोन्मुख, अल्पसङ्ख्यक जाति र समुदायको विशेष संरक्षण गरिने र महिलाहरूलाई समाज र राज्यका सबै क्षेत्रमा पुरुष सरह समानताको पूर्ण प्रत्याभूति गराइने सामाजिक आधारका रूपमा भट्टराईको प्रस्ताव छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई सबै क्षेत्रमा समान अवसर प्रदान गरिने प्रस्ताव गरेका भट्टराईले युगौँदेखि वर्णव्यवस्थाजन्य कलङ्कको रूपमा रहेको दलित समस्यालाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ढङ्गले सम्बोधन गरेर निश्चित अवधिभित्र पूर्ण रूपले निवारण गरिने भनेका छन्।

भट्टराईले कुनै पनि प्रकारको सामाजिक ऊँचनीच र भेदभावलाई जरैदेखि उखेल्ने अभियान चलाइने प्रस्ताव गरेका छन्। उनले नेसपा (नयाँ शक्ति)मा मूलतः तीन समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने भनेका छन्।

देशको जातीय क्षेत्रीय भाषिक विविधता र महिला, दलित, अल्पसङ्ख्यकहरू माथिको संरचनात्मक विभेदलाई मध्यनजर गर्दै पार्टीका सबै तहका कमिटीहरूमा जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने भट्टराईको प्रस्ताव छ।

‘नेसपा (नयाँ शक्ति) मा मूलतः तीन समुदाय आदिवासी जनजाति, मधेसी थारु र खस आर्य तथा महिला, दलित, अल्पसङ्ख्यक समूह (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, लोपोन्मुख जाति, धार्मिक अल्पसङ्ख्यक समूह र अपाङ्गता भएका व्यक्ति) को समानुपातिक समावेशी प्रतिनिधित्व गराइनेछ,’भट्टराईले प्रस्ताव गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.