स्थानीय स्वास्थ्य संस्थामा नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण

स्थानीय स्वास्थ्य संस्थामा नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण

192
SHARES

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि एक महिने परीक्षण अभियान सुरु गर्दैछ। फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत मङ्सिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए। यसलगत्तै मन्त्रालयले परीक्षण सुरु गर्न लागेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको मन्त्री पौडेलले बताए। ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ,’मन्त्री पौडेलले भने,‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेका छौँ।’

देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन्। यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ। अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ। ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’प्रवक्ता बुढाथोकीले भने।

गत साउन २७ गते मन्त्री पौडेलले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो।
फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.