नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सुरु

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सुरु

224
SHARES

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्धको निःशुल्क स्क्रिनिङ अभियानमा सहभागी हुन अपिल गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट सुरु गरेको रोग पहिचान र समयमै उपचारका लागि निःशुल्क परीक्षणमा सहभागी हुन मन्त्री पौडेलले सबैमा अपिल गरेका हुन्।

नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको उनले उल्लेख गरे। मन्त्री पौडेलका अनुसार यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको छ।

स्थानीय तहबाट स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेको मन्त्री पौडेलको भनाई छ। निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए।

समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने प्रयत्न जारी रहेको उनले उल्लेख गरे। ‘हामीले हाम्रा स्वास्थ्य संस्थाहरूमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरू गरिरहेका छौँ,’उनले भने, ‘साथसाथै निरोधात्मक विधि अन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानमा नेपाल भित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकहरूलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको जनाएको छ। मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न भनेका छन्।

देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरूको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तथा जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यसाथ थालिएको अभियानले स्वास्थ्य नीति निर्माणमा समेत योगदान दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.